नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् । पार्टीभित्र र बाहिर गगन र विश्वप्रकाश लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ उनीहरु लोकप्रिय हुनुका साथै कतिपयका आदर्शपात्र समेत हुन् ।

कुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे ।
गगन शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने देउवा पक्षकै भएपनि अन्तिममा टिकट नपाएपछि विश्वप्रकाशचाहिँ प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए ।
गगन र विश्वप्रकाश विजयी हुँदा देउवा प्यानलबाट चुनाव लडेका महत र पौडेल पराजित बन्न पुगे ।
अन्तिम मतपरिणाम
मतपरिणामअनुसार थापाले अत्यधिक मत ल्याएका छन् । खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरे । यसैगरी पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे । ४३ मत भने बदर भएको थियो ।