काठमाडौं, कात्तिक ७ – नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसका तर्फबाट उम्मेदवार को हुने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभएको छ । आफ्ना उम्मेदवारको पक्षमा वहुमत जुटाउन कांग्रेसले अन्य दलसँगको छलफल तीब्र बनाउने प्रवक्ता बडुले बताउनुभयो ।
नयाँबानेश्वरमा बसेको बैठकमा कांग्रेसले संविधानमा गरेको संशोधन प्रस्ताव तत्काल अगाडी बढाउन पनि आग्रह गरेको छ । कांग्रेसले बैठकबाटै अत्यावशीय सामान ढुवानीमा देखिएको समस्या पनि तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । संसदमा शनिबारदेखि नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरू हुँदैछ ।