१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानसहित नौ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । तर, सरकारको नेतृत्व गरेको एमालेबाट भने आन्तरिक विवाद नमिलेका कारण मन्त्री थपिएनन् ।
आइतबार प्रधानमन्त्री ओलीले एमाओवादी, फोरम लोकतान्त्रिक र बहुजन समाजवादी पार्टीबाट गरी नौ मन्त्री थपेका छन् । थपिएका मन्त्रीले आइतबार नै राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका छन् ।
नयाँ उपप्रधानमन्त्रीमा एमाओवादी सचिव टोपबहादुर रायमाझी छन् । उर्जा मन्त्रालयको विभागीय जिम्मेवारी पाएका उनले सरकारमा एमाओवादीको नेतृत्व गर्नेछन् ।