पुस-३, परासी, मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै नवलपरासीका मधेसवादी दलहरुले तीन दलका नेताहरुको पुत्लाको फाँसी दिएका छन्। तीन दल र मोर्चासँग भएको सहमति कार्यान्वयन गराउन उनीहरु बाधक रहेको र सीमांकन विरोधी अभिव्यक्ति दिएको भन्दै संयुक्त मधेसी मोर्चामा आवद्ध दलहरुले एमाले अध्यक्ष केपी ओली, एमाओवादीका टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका चन्द्र भण्डारीको पुत्ला बनाएर परासीको बुद्धचोकमा फाँसी दिएका हुन्। सीमांकनविरुद्ध एमालले विभिन्न जिल्लामा गरेको बन्दको विरोध गरेका छन्।
बुद्धचोकमा आयोजित उक्त विरोध कार्यक्रमपछि आयोजित कोणसभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले संविधान संशोधन प्रस्तावमा आफूहरुका माग समावेश नभए मधेसमा आन्दोलन चर्काउने चेतावनी दिए। प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राएको विरोधमा एमालेलगायतका दलहरुले रुपन्देही, पाल्पा, अर्घखाँची, गुल्मी र नवलपरासीमा सुरु गरेको विरोधका कार्यक्रमको सो दिनदेखि नै जिल्लाका मधेसवादी दलहरुले पनि सीमांकनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
सिठ्ठी जुलुस, विरोध र्याली र दलका नेताहरुको पुत्ला दहन कार्यक्रम गर्दै आएका मधेसवादी दलहरुले झुण्डाइएको पुत्लालाई दाहासंस्कार गरेर ब्रहमभोज स्वरुप आइतबार दही चिउरा वितरण गर्ने जनाएका छन्।
यस अघि उनीहरुले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका थिए नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।
सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई संयुक्त लोकतान्त्तिक मधेशी मोर्चाले विरोध जनाउदै जिल्लाको सदरमुकाम परासीमा एमालेको झण्डा जलाई विरोध गरेको मोर्चाका संयोजक मुकुरजी गिरीले बताए ।