नवलपरासी, मंसीर- २२ , खगराज सापकोटा । नेकपा माओबादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य‘किरण’ले संविधान संशोधन बर्तमान समस्याको समाधान नभएको बताएका छन् । क्रान्तिकार पत्रकार महासंघ नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् । हतार हतारमा संविधान बनाउने अनि पटक पटक संशोधनको नाममा दलगत स्वार्थ समेट्ने मात्र काम भएको भन्दै संविधान संशोधनलाई नाटकको संज्ञा दिए । संविधानको मुलसारमा एकमत भएका प्रमुख तीनदल भु–भागको विषय लाई लिएर लडीरहेको भन्दै विदेशी शक्तिको दवाबमा बनेको नयां संविधान नै खारेज गर्नुपर्ने माग गरे । भारतीय बिस्तारवादको कारण नेपालमा अस्थिरता बढेको भन्दै पहिले कुर्चीका लागि दरबार धाउने दलका नेताहरु अहिले दिल्ली धाउन थालेको आरोप लगाए । पत्रकारहरुको जिज्ञासामा संघीयता माओवादीकै एजेण्डा भए पनी जनताको चाहना नसमेटीदा आन्दोलन चर्कीएको भन्दै जनताको जायज मागका विषयमा आफ्नोदलको सधै समर्थन रहने बताए । फरक प्रसङगमा नेता बैद्यले कम्युनिष्ट पार्टीहरु जुट्ने फुट्ने स्वभाविक जस्तै भैसकेको हुदा क्रान्तिकारी शक्तिहरु एक हुन सक्ने बताए ।