दक्षिण एसियाका कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल सोमबार थाइल्यान्डको बैंककमा हुनेछ। भारत प्रतियोगिताको साबिक विजेता हो। एसियाली महिला टोलीबीच एसिया कप क्रिकेट सन् २००४ देखिश्रीलंकाबाट सुरु भएको थियो। प्रतियोगिताको पाँच संस्करण सकिँदा सबैमा भारतले उपाधि जितेको छ।
सुरुआती संस्करणदेखि एकदिवसीयमा भएपनि २०१२ को ग्वान्झाउ एसियाडदेखि ट्वान्टी–२० स्वरुपमा एसिया कप भइरहेको छ। एसिया कपमा पाकिस्तान र भारत लगातार दोस्रोपटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। चार वर्षअघि चीनमा भएको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हराउँदै उपाधिमाथि एकछत्र राजगरेको थियो।
शनिबार पाकिस्तानले आयोजक थाइल्यान्डलाई ५ विकेटले हराउँदै फाइनल सुरक्षित गरेको हो। भारत भने समूह चरणका पाँचै खेल जित्दै फाइलनपुगिसकेको थियो। शनिबारै अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले हराएको थियो।
प्रतियोगितामा भारतले १० अंक र पाकिस्तानले ८ अंक बटुले। श्रीलंकाले ६, बंगलादेशले ४ र आयोजक थाइल्यान्डले २ अंक जोडेका थिए। प्रतियोगितामा नेपालमात्र जितविहीन टोली बन्यो।थाइल्यान्ड र नेपाल बाहेक सबै टेस्ट खेल्ने टोलीको सहभागिता थियो।
शनिबार पाकिस्तानविरुद्ध सुरुआती ब्याटिङ गरेको थाइल्यान्डले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा १८.२ ओभरमा अलआउट हुँदा ५१ रन जोडेको थियो। जवाफमा पाकिस्तानले ११.४ ओभरमा ५ विकेट गुमाई विजय लक्ष्य पूरा गरेको थियो। पाकिस्तानी जितमा अस्माभिया इकवालले सर्वाधिक २४ रन बनाइन्। प्लेयर अफ दी म्याच पाकिस्तानकी बलर साना मिरले सर्वाधिक ४ विकेट लिइन्।
नेपाली टोली भने सुरुआती खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भयो। त्यसपछिनेपाल श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ र भारतसँग ९९ रनले पराजित हुँदै घर फर्केको हो।