हरि शर्मा
परासी,९ मंसिर ः जिल्लाका सबैजसो खोलाहरु चुरेले ओगटेको क्षेत्र भित्र परेपछि जिल्ला विकास समिति नवलपरासीको आन्तरिक आय कटौती हुने भएको छ । जसले गर्दा जिविस स्रोतबाट सञ्चालन हुने योजना प्रभावित हुने भएका छन् । बन्दका कारण पनि अधिकाशं योजनाहरु समयमा हुन नसक्ने जिविसले जनाएको छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सबै जसो खोलाहरु चुरे क्षेत्रले ओगटेको देखाइएको छ ।
स्थानीय विकास अधिकार लालकृष्ण पौडेलका अनुसार जिल्लाका ७ नगरपालिका र ५६ गाविस मध्ये २९ गाविसका खोलाहरु चुरे क्षेत्रमा परेको देखाइएको छ । गतवर्ष केही खोलाहरु मात्र चुरे क्षेत्र भित्र परेका थिए तर यसवर्ष देखि अधिकांश खोला क्षेत्र चुरे भित्र परेका छन् ।
परासी क्षेत्रका पाँच वटा खोलाबाहेक नवलपुर क्षेत्रका सबै खोलाहरु चुरे क्षेत्रभित्र परेको देखाइएका कारण आन्तरिक आयमा कटौती हुने देखिएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । परासी क्षेत्रका खजुरा र रुपौलिया खोलका वातावरणीय प्रभाव परिक्षण गरि मन्त्रालय पठाएको र झरही, तुरिया, पानभार र बौलाहा खोलाको वातावरणीय अध्ययन भइरहेकोले प्रतिवेदन आएपछि ति खोलाहरुको ठेक्का प्रकृया अगाडी बढ्ने पौडेलले बताउनुभयो । त्यस्तै ठेक्का लगाउन नसक्दा योजना प्रभावित हुने भएकाले जिल्ला दैवि प्रकोप समितिको बैठक बसेर राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा ठेक्काका लागी अनुरोध गरि पठाउन लागिएको जिविसले जनाएको छ ।
जिविस योजना फाँटका प्रमुख पुरुषोत्तम ढकालले खोलाको ठेक्का नलागे आ.ब. ०७२÷७३ का लागी छनौट भएका जिविस आन्तरिक स्रोतका १ सय ३८ योजना प्रभावित हुने बताउनुभयो । यसवर्ष आन्तरिक स्रोतबाट विद्यालय भवन, सामुदायिक भवन, सडक, यातायात, खानेपानी, नदी नियन्त्रणजस्ता योजना छनौट भएका ढकालले जानकारी दिनुभयो । जिल्ला विकास समिति नवलपरासीले हरेक वर्ष १५ वटा खोलाहरुको ठेक्का लगाउँदै आएको छ । जसबाट १० करोड रुपैयाँ आन्तरिक आय हुने गरेको छ ।
- Advertisement -
- Advertisement -