पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा गरेका वार्षिक प्रगतीको सरोकारवालाहरु संग समिक्षा गरेको छ । आर्थिक वर्ष सकिएपछि वार्षिक प्रगतीको स्थानीय तहहरुले खासै वास्ता नगर्ने गरेका पाईएको छ । तर सरावल गाउँपालिकाले सरोकारवालहरुको भेला गरेर पालिकाको समग्र प्रगतीको समिक्षा गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा चालु तर्फ ८९ दशमलव ५ प्रतिशत र पुँजिगत तर्फ ७६ दशमलव ४१ प्रतिशत गरेर समग्रमा ८४ दशमलव ९४ प्रतिशत वित्तिय प्रगती हासिल गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशाल मिश्राले जानकारी दिनुभयो । पालिकाको कुल ५५ करोड ४० लाख ६ हजार ६६३ मध्ये चालु तर्फ ३६ करोड २१ लाख ८६ हजार ६६३ र पूँजीगत तर्फ १९ करोड १८ लाख २० हजार खर्च भएको हो ।
गत आर्थिक वर्षको तुलनामा तीन प्रतिशतले बित्तिय प्रगती वृद्धि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको विकास निर्माण तर्फ भौतिक प्रगती ९३ प्रतिशत भएको प्रमुख प्रशासकिय अधिकृत मिश्राले बताउनुभयो
गाउँपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार राजश्व संकलन लक्ष्य उन्मुख छ । गत आर्थिक वर्षमा १ करोड ३८ लाख राजश्व संकलनको अनुमान गरिएकोमा १ करोड २४ लाख २८ हजार राजश्व संकलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । जुन लक्ष्यको ९० दशमलव ६ प्रतिशत हुन आउछ ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गाउँपालिकाले बजेटको अधिकतम सदुपयोग गरेर सके सम्म सबै योजना कार्यान्वयन गर्ने प्रयास गरिएको बताउनुभयो । विगतको तुलनामा पालिकाको कामले गति लिएको बताउदै उहाँले हरेक आर्थिक वर्षमा वित्तिय प्रगति वृद्धि हुदै जानु सुखद पक्ष भएको उल्लेख गर्नुभयो ।
गाउँपालिकाको स्थानीय सरकार अन्तर्गतका क्षेत्रमा गरेको प्रगती विवरण सरोकारवाला समक्ष प्रस्तुत गरेका थियो । सरोकारवालाहरुले पालिकाले गरेको प्रगती सकारात्मक रहेको बताउदै योजनाको गुणस्तरीय कार्यान्वयन र थप प्रगति प्राप्त गर्ने गरि काम गर्नुपर्नेमा जोड दिएका थिए । नवलपरासीका बाँकी स्थानीय तहमा आर्थिक वर्ष सकिएपछि वार्षिक समिक्षाको अभ्यास देखिएको छैन । समिक्षाले जनप्रतिनिधि र कर्मचारीलाई जनता प्रति जिम्मेवार बनाउने सरोकारवालाहरुको भनाई छ ।