पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगन्जदेखि बेलाटारीसम्मको हुलाकी सडक निर्माण कार्य अलपत्र परेपछि गाउँपालिकाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यसअघि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय घेराउ र रिले अनसन गर्दा काम तत्काल अगाडि बढाउने सहमति भएको थियो । तर, ठेकेदारले काम नगरेपछि गाउँपालिका अध्यक्षसहित स्थानीयले सडक निर्माणको माग राख्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रतापपुर गाउँपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई पत्र लेखेर फागुन १५ सम्ममा काम सुरु नभएमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
‘जनताले दैनिक धुलो खाँदै र खाडल भएको बाटो हिँड्नु परेको छ । ठेकेदारले काम गर्ने सहमति गरेर काम अलपत्र पारेको छ,’ अध्यक्ष उमेशचन्द्र यादवले भने,‘ फागुन १५ सम्ममा देखिने गरेर काम अगाडि नबढे जनतासहित काठमाडौं गएर मन्त्रालयमा धर्ना दिने छु ।’
६ दशमलव ५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि गाउँपालिका अध्यक्ष यादवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । त्यसबेला मन्त्री दाहालले तत्काल काम सुरु नगरे ठेक्का रद्द गर्ने आश्वासन दिएका थिए ।
यसअघि असोज २ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा ठेकेदारले तत्काल काम सुरु गर्ने सहमति गरे पनि काम सुरु गरेको छैन । सडक निर्माणका क्रममा खनिएको खाडलले गर्दा हिउँदमा धुलो र वर्षात्मा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको छ ।
ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीय आक्रोशित छन् । २०७९ सालमा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि अझै कामले भनेअनुसारको गति लिएको छैन । जसका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ ।