पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ की कौशिल्या हरिजनले आपतमा सहयोग पुग्ने भन्दै बचत गरेर राखेको सहकारीको कार्यालयनै बन्द भएपछि अहिले हारगुहार गरिरहेकी छन् । ७० वर्षीया उनले आफ्नो सामाजिक सुरक्षा भत्ता जोगाएर दुई लाख रुपैयाँ जम्मा गरेको जनहित बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएको हो ।
‘सहकारीमा पैसा राख्यो भने दुःख पर्दा ऋण पजि पाइन्छ भनेर बचत गरियो,’ उनले भनिन्, ‘बृद्ध भत्ताको रकम पनि खर्च नगरी राखेँ । रकम खाएर सञ्चालक फरार भए । हाम्रो बचत जसरी पनि फिर्ता गर्नुपर्यो ।’
जिल्लाको दक्षिणी भेगमा बैंक तथा वित्तीय संस्थाको सहज पहुँच छैन । त्यसैले स्थानीयले गाउँका मानिसहरू मिलेर सञ्चालन गरेको सहकारीमा रकम जम्मा गरे । २०७५ सालमा स्थापना भएको उक्त सहकारीमा करिब ७ सय बचतकर्ताको ५६ लाख ८६ हजार ६ सय ३९ रुपैयाँ अपचलन गरेर संस्थाका व्यवस्थापक अविनाशकुमार कुशवाह र सञ्चालक समितिका केही व्यक्ति फरार छन् ।
बचतकर्ताहरू कार्यालय परिसरमा दैनिक रुपमा जम्मा भएर आफ्नो बचत फिर्ताका लागि पहल गर्न स्थानीय सरकार र नेताको घरघरमा पुगे पनि बचत फिर्ता हुने ठोस पहल नभएकोमा निराश छन् । सुस्ता गाउँपालिका–५ का सुकलाल मियाँ शारिरीक रुपमा अशक्त छन् । उनले पनि केही रकम बचत गरेमा अप्ठ्यारो र उपचारको समयमा काम लाग्ने भन्दै सामाजिक सुरक्षा भत्ता र आफूसँग भएको केही रकम जम्मा गरे । तर १ वर्षदेखि सहकारी संस्था नै बन्द भएको र ब्यवस्थापक फरार भएपछि समस्यामा छन् ।
प्रतापपुर–६ कै बद्री यादव सेवा निवृत्त्त प्रहरी हवल्दार हुन् । सेवा निवृत्त भएपछि खेती किसानीमा लागेका उनले बचत गरेमा छोराछोरीको अध्ययन खर्चमा सहयोग हुने भन्दै रकम जम्मा गर्न थाले । अहिले सहकारी बन्द भएको र यसको समाधानको लागि राजनीतिक दलका नेताहरू पनि चुपचाप बसेको भन्दै निराशा व्यक्त गरे । ‘यो ग्रामीण क्षेत्र हो । यहाँका अधिकांश खेती र सामान्य मजदुरी गरेर जिविकोपार्जन गर्छन्,’ उनले भने,‘वृद्ध भत्तादेखि सामान्य मजदुरी गरेर आफ्नो छाक काटेर बचत गरेको रकम अपचलन हुँदा पनि सहकारी ठगहरू खुलेआम हिँडिरहेका छन् ।’
यो सहकारीले स्थापना भएको ४ वर्षमा नै उजुरी गर्न आएका ७ सय भन्दा धेरै पीडित बचत फिर्ताको माग गर्दै आइरहेका छन् । बचतकर्ताको उजुरी र गुनासोको आधारमा प्रतापपुर गाउँपालिकाले वडा १ का अध्यक्ष महेन्द्रबहादुर चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले अध्ययनका क्रममा सहकारीले बचतकर्ताको रकम र ऋण प्रवाहको अधिकांश रेकर्ड नराखेको, ऋण प्रवाहमा धितो नराख्ने र नगदी रसिद मात्र काट्ने गरेको भेटिएको छ ।
जसमा सहकारीका व्यवस्थापक कुशवाहले मात्र ५२ लाख रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको छानबिन समितिले ठहर गरेको छ । बाँकी रकम संस्थाका अन्य पदाधिकारीले अपचलन गरेको उल्लेख छ । २०७५ सालमा स्थापना भएको सहकारीले एक पटक मात्र लेखापरीक्षण गरेको र अहिलेसम्म साधारणसभा गरेको छैन । अहिलेसम्म जम्मा १० हजार रुपैयाँ मात्र नगद मौज्दात रहेको भेटिएको छ ।
सहकारीमा बचतकर्ताको रकम अपचलन भएको, दोषीलाई कारबाही, बचत फिर्ता गर्नुपर्ने र गाउँपालिकामा सहकारीको नियमन गर्न बेग्लै सहकारी शाखा स्थापना गर्न सुझाव दिएको छानबिन समिति संयोजक चौधरीले बताए । ‘सञ्चालक समिति र सरोकारवालाले सहकारीको गतिविधिबारे नियमन गरेको पाइएन,’ उनले भने,‘ वित्तीय संस्थामा अपनाउनुपर्ने प्रक्रिया र विधिको प्रयोग गरेको भेटिएन ।’
छानबिन समितिले प्रतिवेदन गाउँपालिकालाई बुझाएको छ । जसमा व्यवस्थापकसहित रकम अपचलनमा संलग्न सात जनालाई कारबाही र बचतकर्ताको रकम फिर्ता गराउने वातावरण बनाउन सिफारिस गरेकाले कानुनी परामर्शमा रहेको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘बचतकर्ताको रकम फिर्ता गराउने तर्फ हाम्रो ध्यान केन्द्रित छ । त्यसपछि दोषीलाई कारबाहीका लागि कानुनी परामर्शमा छौं,’ उनले भने,‘अपचलनमा संलग्नलाई झिकाएर बचत फिर्ताको लागि पहल गर्ने र समस्या समाधान नभएमा कानुनी प्रक्रियामा जाने योजना छ ।’
सहकारीका अध्यक्ष प्रेम खवासले व्यवस्थापक कुशवाहलाई दोष दिएर पन्छिने गरेका छन् । सञ्चालक समितिका पदाधिकारीहरू भने व्यवस्थापकले आफुहरूलाई जानकारी नदिइकनै रकम संकलन, प्रवाह र कारोबार गरेको दाबी गरेका छन् । ‘हामीलाई हिसाबकतिाब गर्ने ज्ञान थिएन । सहकारीको कारोबारको जिम्मा व्यवस्थापक अविनाशलाई दिएका थियौं । आफू अनुकुल रकम चलाउने गरेको रहेछ, पछि आए थाहा पायौं,’ उनले भने, ‘हामीले नै गाउँपालिका र अन्य सरोकारवाला कार्यालयमा उजुरी दर्ता गराएका छौं । बचतकर्ताको रकम फिर्ता गराउन हामी प्रतिबद्ध छौं ।’
source: ekantipur