भोलिबाट त साउन महिना सुरु
प्रकृति पनि हरियै भएको छ,
किसानहरु रोपाइँ सकेर मैदार खाएर विश्राम गरिरहेका छन्,
साउने झरी लगातार परिरहेको छ
खोल्साहरु सुसाउँदै नदीमा सामेल हुन तँछाड मछाड गरिरहेका छन्
निर्माणाधिन राजमार्गहरु हिलो, धुलो र पहिरोले ग्रस्त छन्,
मनमा अनेक कुरा खेलाउँदै
त्रास र पीर बोकेर आफ्ना सपना पूरा गर्न हिँडेका जीवन
आज गन्तव्यमा नपुग्दै त्रिशुली अनि नारायणीमा नै विलिन भएका छन्
राज्य सत्ता भने आफ्नै सुरमा छ जनताको के मतलव ?
चुनाव आएको छैन,
आफ्ना सन्तान सुरक्षित छन् त्यसैले त सत्ता र कुर्सीको खेलमा मस्त छन् ।
शहर, बजार पनि सजिएको छ
जताततै हरिया चुरा अनि मेहन्दीले तर,
मेरो मनमा यी हरिया चुरा अनि मेहन्दी दख्ने वितिके,
एक तरङ्ग पैदा हुन्छ,
ती त्रिशुलीमा बगेका यात्रुका घरमा कस्तो अवस्था होला
सासको त आस छैन तर लाश पनि पाउने आशा छैन,
कति श्रीमतीका हातको मेहेन्दी मेटियो होला
अनि भर्खर बजार गएर लगाएका राता चुरा झर्याम झुरूम भएर फुटे होला
कति आमाका काख रित्तिए अनि कति सन्तान टुहुरा भए होलान्
यस्तो दर्दनाक अवस्थामा के हरिया चुरा अनि के को मेहेन्दी ?
त्यसैले मैले लगाइनँ नी मेहेन्दी र हरिया चुरा
साँच्चै कुरा भनौं भने न त मेरी आमाले लगाएको देखेँ
न त हजुरआमाले लगाएको देखेँ
मैले त केवल टिउरी अनि अमिलो झारलाई सिलौटोमा थिचेर
कर्कलाको ठूलो पातले हातमा बेरेर
आमाको पुरानो धोती च्यातेर डोरीले रातभरी बाँधेर राखेको देखे अनि,
कसरी जान्नु मैले सोलीमा टम्म भरेको मेहेन्दीबाट
नयाँ नयाँ डिजाइन बनाउन ?
त्यसैले लगाइनँ नी मैले
मेहेन्दी सबेरै उठेर दैलो कुचो गर्नु छ,
रातो माटोले चुल्हो पोत्नु छ,
अनि पटुकीमा मकै राखेर खादै खेतका आलीको घाँस काट्दै धान गोडनु छ,
वारीका छेऊ कुना सफा गर्दै कोदो गोड्नु छ,
हिलोले खाएको हात चहराउँछ.
धान र कोदो गोड्दा हिलो माटोले हरिया चुरा खुइलिएर नराम्रो हुन्छ
त्यसैले, लगाइनँ नी मैले हरिया चुरा अनि मेहन्दी.
गीता देवी न्यौपाने