घरबास (होम स्टे) निमार्णका लागि लुम्बिनी प्रदेश सरकार र पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाबीच सम्झौता भएको छ । नगरको पर्यटन विकासमा टेवा पुर्याउने र मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले होम स्टे सञ्चालनको लागि प्रदेश र पालिका बीच सम्झौता भएको हो । रामग्राम नगरपालिका वडा नम्बर १४ मा रहेको हडहिया पोखरीमा होमस्टे निर्माणका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र नगर प्रमुख धनपत यादवबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार ९२ लाख रुपैयाँ स्थानीय तहको र १ करोड ८ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । ‘ पर्यटनको सम्भावना हुँदाहुँदै पनि समुदायले अपनत्व लिने गरेर पर्यटन विकास हुन सकेको थिएन ।’उनले भने,‘ समुदायले आफ्नो मौलिक परिकार र संस्कृति मार्फत होम स्टे सञ्चालन गरेर आयआर्जनमा टेवा पुर्याउने योजनाको ल्याएका छौ । यसले रामग्राम नगरको पर्यटन विकासमा टेवा पुर्याउने छ । ’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नवप्रवर्तन साझेदारी कोषको माध्यमबाट प्रदेश तथा स्थानीय तहको सह लगानीमा नवीनतम परियोजना अन्र्तगत होम स्टे सञ्चालन गर्न लागिएको हो । वडा नम्बर १४ मा थारू समुदायको बाहुल्य रहेको र थारू समुदायको आयआर्जन र लोप हुन लागेको रिती संस्कृति जगेर्नामा पनि होम स्टे ले टेवा पुर्याउने अपेक्षा गरिएको छ । हडहिया पोखरीमा निमार्ण हुने होमस्टेमा पोखरी सौन्दर्यकरण र पर्यापर्यटनका लागि आवश्यक संरचना तयार गरिने रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले बताए ।