पूर्वी नवलपरासीमा क्रियाशील प्रमुख विद्यार्थी सङ्गठनले जिल्लामा रहेका १० वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने निर्णय गरेका छन् । त्यसका लागि नेपाल विद्यार्थी सङ्घ , अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियु ( नेकपा एस) ले संयुक्त रुपमा बैठक बसेर यस्तो निर्णय गरेका हुन् । यस अगाडि जिल्लामा ६ वटा क्याम्पसमा मात्र निर्वाचन भएकोमा थप ४ वटामा स्ववियु निर्वाचन माग गरिएको नेपाल विद्यार्थी सङ्घ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।
कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती ,एसपिएम कलेज गैडाकोट , देवचुली कलेज, कालिका संस्कृत विद्यापीठ गैडाकोट र अरुणखोला बहुमुखी क्याम्पस मध्यबिन्दुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । आगामी निर्वाचनमा जनक कलेज गैँडाकोट, जनज्योति आदर्श बहुमुखी क्याम्पस प्रगतिनगर, नवजागरण बहुमुखी क्याम्पस चोरमारा र जनमुखी आदर्श बहुमुखी क्याम्पस गैडाकोटमा निर्वाचन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय गरेको छ । यसका लागि विद्यार्थी सङ्गठन चुनावको तयारीमा छन् ।












