शिलन्यास भएको ५ वर्षपछि पूर्वी नवलपरासीको कावासोतीमा नमुना सदरमुकाम निमार्ण क्षेत्रमा रुख कटान स्विकृत भएको छ । नमुना सदरमुकाम निमार्ण स्थलमा पर्ने ६ सय ४२ वटा रुख काट्नका लागि मन्त्रीपरिषदको मंगलबार बसेको वैठकले स्विकृती दिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले जिल्ला प्रशासन कार्यालयसहित दुई वटा भवन निमार्णको ठेक्का भैसकेको छ । भवन ठेक्का पाएको चौधरी कन्स्ट्रक्सन रौतहटले रुख कटान नहुदा काम अगाडी बढाउन पाएको थिएन् । रुख कटानको अनुमती पाएपछि वर्षौ देखि रोकीएको नमुना सदरमुकाम निमार्णको कामले तिब्रता पाउने आशा गरीएको छ । वन विभाग मार्फत मन्त्रीपरिषदको बैठकले रुख कटानको अनुमती दिएको भन्ने सुचना प्राप्त गरेको र लिखितरुपमा रुख कटानको आदेश जिल्लामा पाएपछि काम सुरु गर्ने जिल्ला डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । यस क्षेत्रमा साना ९० वटा र ठुला रुख ५ सय ५२ गरेर ६ सय ४२ वटा रुख काटीने छ ।
सदरमुकाम भित्र करिब ६ किलोमिटर सडक निर्माणको काम भएको छ । तर सडकमा नाली, फुटपाथ, पार्क र साइकल रुट निर्माणको काम अझै बाकी नै छ । १० करोड ७७ लागतमा ग्राभेल सडक निर्माण गर्ने कामबाहेक अन्य संरचना निर्माण भएको छैन ।
डिपिआर अनुसार रुख कटान गर्दा नवलपुर क्षेत्रमा रहेका लोपोन्मुख गिद्धको वासस्थान लोप हुने भन्दै संरक्षणकर्मीले चिन्ता ब्यक्त गरेका छन् । नमुना सदरमुकाम क्षेत्रमा जिल्ला प्रशासन, शिक्षा, सरकारी वकिल, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय समिति, निर्वाचन, ट्राफिक, जिल्ला करदाता कार्यालय, हुलाक, पुनर्निर्माण प्राधिकरण, सुन्तला जोन र फलफूल जोन र जिल्ला कारागारसहित २९ कार्यालय रहने गरेर डिजाइन तयार पारिएको छ । संघ, प्रदेश र स्थानीय तहले आफ्नो मातहतको कार्यालय निर्माण गर्नेछन्। सदरमुकाम क्षेत्रमा कार्यालयबाहेक ५ हजार मानिस अटाउने अत्याधुनिक सभाहल, २५ हजार दर्शकले खेल हेर्न सक्ने फुटबल मैदान, ग्रिन पार्क, कभर्डहल निर्माण गर्ने लक्ष्य छ । कावासोती नगरपालिका–३ मा रहेको १ सय ८६ बिघा ज्योतीकुञ्ज सामुदायिक वन क्षेत्रको जग्गा नोपल सरकारले आफू मातहत ल्याएको छ । २०७६ बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए । डीपीआर अनुसार एकीकृत नमुना सदरमुकाम बनाउन ३३ अर्ब भन्दा बढी खर्च लाग्ने अनुमान छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -