जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले अहिलेको कांग्रेस र एमाले गठबन्धनको सरकारबाट मुलुकले निकास नपाउने बताएका छन् ।
गृहजिल्ला पश्चिम नवलपरासीको बर्दघाटमा संगठन विस्तार कार्यक्रममा सहभागी हुन आएका नेता त्रिपाठीले यस्तो बताएका हुन् ।
‘अहिलेको गठबन्धन सरकारले संविधान संशोधन गर्ने नाममा आदिवासी, जनजाति, मधेसी, दलित तथा अल्पसंख्यक जनताको अधिकार कटौती गर्न खोजेमा थप संकट आइपर्नेछ,’ उनको भनाइ थियो ।
संघीयतामा प्रदेश मजबुत हुनुपर्नेमा नेपालमा प्रदेशलाई कमजोर बनाएर विकृत संघीयताको अभ्यास हुँदा समस्या बढेको उनको दाबी थियो । नेता त्रिपाठीले संघीयताको मर्मअनुसार काम हुन नसक्दा जनतामा निराशा बढेको पनि बताए ।