कावासोतीमा सेकेण्ड नेपाल बर्ड फेयर-२०८० शुक्रबारदेखि सुरु भएको छ । पोखरा पन्छी समाजको आयोजना र जटायु रेष्टुरेन्ट नवलपुर, बर्ड एजुकेसन सोसाईटी चितवन सहआयोजक रहेको फेयर कावासोती नगरपालिका-१३ स्थित सिमसार क्षेत्रमा सुरु भएको हो ।
फेयरको कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेतले उद्घाटन गरिन् । माघ २८ गतेसम्म चल्ने ‘सेकेन्ड नेपाल बर्ड फेयर’मा चरा र तिनका बासस्थानको संरक्षण, जनचेतना र पर्यटनको बिकासको बारेमा छलफल र प्रदर्शनी स्टल राखिएको चरा विद् एवंम जटायु रेष्टुरेण्टका संयोजक डिबी चौधरीले बताए ।
उत्सवमा कावासोती क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान, मलेसिया लगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
फेयरमा देशभरका वाईल्ड लाईफ फोटो ग्राफरले खिचेका दुलर्भ चराका फोटो प्रदशर्नमा राखिएको छ । पहिलो दिन नेपालमा पाइने चराको बारेमा नेचर गाइड र स्थानीय युवालाई जानकारी दिने र दोस्रो दिन प्रत्यक्षरुपमा चराको बासस्थानमा गएर उनीहरुको आनीबानी र प्रकारको बारेमा जानकारी लिने कार्यक्रम छ ।