पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ३ जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिकाको भारतिय सिमाबर्ती क्षेत्रबाट दुई जना भारतिय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा पाल्हिनन्दन ५ चमेनाटोल घर भइ रामग्राम २ हाटबजार बस्ने २१ बर्षिय कलिम मियाँ,भारत देवरिया थाना बरहजवा बस्ने अरुण मल र भारतको महाराजगन्ज थाना कोतवाली ग्राम बस्ने २८ बर्षिय शैलेश बर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहराले बताए ।
प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा कलिम मियाँले लु १८ प ५२६९ नं. को मोटरसाईकलमा बसाली दुई जना किशोरीहरुलाई युपी 53 डिबी 4832 नम्बरको मोटरसाईकलमा सिमा आएका भारतिय दुई युवकलाई जिम्मा लगाई रहेको अवस्थामा शंका लागी सोधपुछ गर्दा पिडित किशोरीहरुलाई ललाई फकाई भारतको गोरखपुरतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पिडितहरुलाई तत्काल उद्धार गरिएको र पक्राउ परेका युवकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।