24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

जनशक्ति अभावले सेवा प्रवाहमा समस्या

- Advertisement -Flowers in Chania

कावासोती, असोज १२ गते । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्ति मात्रै होइन, पूर्वाधारको समेत समस्या छ। जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन्। साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भिड धेरै देखिने गरेको छ। 

जिल्ला अस्पताल भएलगत्तै चार तलाको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिए पनि भवनले पूर्णता पाउन सकेको छैन। भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको संयुक्त लगानीमा अगाडि बढाइएको थियो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कँडेलले उक्त संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माण हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएको छ।” जिल्लामा बिमा कार्यक्रम लागु भएपछि अस्पतालमा थप बिरामीको चाप बढेको उहाँको भनाइ छ। 

जिल्ला अस्पतालमा विस्तार गरिएको पाँच वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले २०६४ सालमा निर्माण गरिएको ट्रस्टको भवनबाट जिल्ला अस्पतालका रूपमा सेवा प्रदान गरिँदै आइएको बताउनुभयो। 

दरबन्दी अनुसार छैनन् जनशक्ति

नवलपुरमा रहेको उक्त अस्पतालमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ। १५ शय्याको उक्त अस्पताल पचास शøयाको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ। ३१ जनाको दरबन्दी भए पनि हाल १३ जना मात्रै छन्। अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो। दरबन्दी अनुसार जनशक्ति आउने हो भने प्रभावकारी रूपमा सेवा प्रदान गर्न सकिने उनको भनाइ थियो। दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुने गरेको छ।

डायलासिस सेवा विस्तारमा कठिनाइ

जिल्लाभित्रका मिर्गौला बिरामीलाई डायलासिसका लागि चितवन र काठमाडौँ जानुपर्ने बाध्यता थियो। जिल्लाभित्रका बिरामीलाई बाहिर जिल्ला जानुपर्ने बाध्यता थियो। आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने पीडा पनि छ। जिल्लाकै मध्यबिन्दु जिल्ला अस्पतालमा गत मङ्सिर १३ देखि मिर्गौलाका बिरामीका लागि डायलासिस सेवा सुरु गरिएपछि पीडितले राहत पाएका थिए। उपकरण अभावमा जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तारमा कठिनाइ भएको छ। 

अस्पतालमा डायलासिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएका जनाइएको छ। उपकरण र जनशक्ति अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ छ। यसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ। जनशक्ति अभावमा एक सिफ्टमा नौ जनालाई मात्र सेवा दिएको अस्पतालले डायलासिस गर्ने चार वटा मेसिनमध्ये तीन वटाबाट एक सिफ्ट मात्रै सेवा दिन सुरु गरेको हो। 

मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहसँग सहयोग मागेको छ। उहाँका अनुसार जिल्लामा एक सय जनाको आसपास डायलासिस गर्नुपर्ने बिरामी छन्। अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीका लागि समेत सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उहाँको माग छ।  

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्