बिरेन्द्र पराजुली, कावासोती –
२०८०, भदौ -२८
नवलपुरका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई प्राथमिकता नदिदा पाठ्यक्रम विकास केन्द्रले लागू गरेको चार बर्ष बितिसक्दा पनि पुस्तक तयार गरेर लागू हुन सकेको छैन् ।
सरकारले पाठ्यक्रममा स्थानीय पुस्तक लागू गर्न निर्देशन दिए पनि नवलपुरका पालिकाले भने यसलाई चासो दिएको देखिदैन। नवलपुरमा ८ वटा पालिका मध्ये अधिकांश पालिकाले अझैसम्म पाठ्यक्रम समेत तयार गरेको छैनन्। नवलपुरको कावासोती नगरपालिकाले ३ बर्ष पहिले १४ जना विज्ञ तयार गरेर पाठ्यक्रम निर्माण गर्न जिम्मा दिए पनि त्यो अझैसम्म पूरा हुन सकेको छैन् । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम सूचिमा रहेपनि शिक्षकले कक्षा १ देखि ३ सम्मको मात्र पाठ्यक्रम प्राप्त गरेका छन् , भने ४ देखि ८ सम्मको पाठ्यक्रम तयारीको चरणमा रहेको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले बताए । सन्दर्भ सामाग्रीको अभावका कारण ४ देखि ८ को पाठ्यक्रम तयारीमा ढिलो भएको र १ देखि ३ सम्मको अब केही दिनमा छपाईमा पुग्ने कावासोती शिक्षा शाखाका प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । उनले भने बजेट अभाब र बिज्ञको समेत अभाब रहेकाले अब छिट्टै प्रकृयामा गएर सबै शिक्षकको हात–हातमा पुस्तक पुग्ने दाबी गरेका छन् । यसको लागि बजेट समेत माग भएको र बजेट प्रयाप्त हुनासाथ यसै शैक्षिक सत्रबाट स्थानीय पुस्तक लागू गर्ने उनले बताए ।
कावासोती नगरपालिकामा कक्षा १ देखि ८ सम्म करिब ५ दर्जन सामुदायिक र नीजि विद्यालयमा १५ हजार बिद्यार्थी अध्यापन गर्छन्। नगरपालिकाले लागू गर्ने स्थानीय पुस्तक अझैसम्म तयार हुन नसक्दा रित्तो हात शिक्षक कक्षा कोठामा अध्यापन गराउन बाध्य रहेको त्रिभुवन बाल मा.बि.का प्रधानाध्यापक दिपक घिमिरेले बताए । कावासोती नगरपालिका मात्र होइन स्थानीय पुस्तक लागू नभएको यसैसंग जोडिएको देवचुली नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम लागू गर्न सकेको छैन्। देबचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले नगरपालिकाले स्थानीय पाठ्यक्रम भन्दा अन्य शिर्षकमा बढी चासो दिएको कारण यो विषय पछि परेको तर पनि यो बर्ष आफुहरुले जे–जसरी भएपनि पाठ्यक्रम तयार गरेर अध्यापन गराउने बताएका छन् ।
देबचुली नगरपालिकाले यसै बर्षदेखि नब नेपाल प्रा.बि. र दिब्यज्योती आ.बि. मा परीक्षणको रुपमा ब्यबहारिक शिक्षा १ देखि ३ सम्मको पाठ्यक्रम लागू गरेको छ। अन्य पाठ्यक्रम र विशिष्टकरणको लागि बिज्ञको खोजी भएको उनले बताए। देवचुली नगरपालिकामा कक्षा १ देखि ८ सम्ममा करिब ५ हजार ५ सय बिद्यार्थी अध्यान गर्छन, तर सरकारले लागू गरेको स्थानीय पाठ्यक्रम नगरपालिकाले तयार नगर्दा अध्यापन गराउन असहज भएकोले बिकल्पको लागि अंग्रेजी, गणित र नेपाली बिषयका पाठ्यपुस्तक अध्यापन गर्ने गराउने गरेको शिक्षक बताउछन् ।
उता मध्यबिन्दु नगरपालिकाले पनि कक्षा १ देखि ३ सम्मको स्थानीय पुस्तक छपाईको प्रक्रियामा रहेको र ४ देखि ८ सम्मको पाठ्यक्रम शिक्षकको हातमा पुगे पनि पुस्तक भने कहिले पुग्छ यकिन छैन । शिक्षा शाखाका अधिकृत कृष्ण प्रसाद रेग्मीले ४ देखि ८ सम्मको पुस्तक तयारीको लागि बिज्ञसंग छलफल गरेका छौ । यो आउने शैक्षिक सत्रदेखि किताबै शिक्षकको हातहातमा पुर्याउने जानकारी गराए। मध्यबिन्दु नगरपालिकामा कक्षा १ देखि ८ सम्ममा करिब ९ हजार २ सय बिद्यार्थी अध्यापन गर्छन् । यहाँ पनि बिना पुस्तक शिक्षक बिद्यार्थी अध्यान अध्यापन गर्दै आएका छन् । हातमा पुस्तक हु“दा त शिक्षकलाई अध्यापन गराउन समस्या हुन्छ, पाठ्यक्रमको आधारमा मात्र अध्यापन गराउन जटिल छ, त्यसैले समयमा स्थानीय पुस्तक प्रकाशित गर्न आफुहरुले पटक–पटक दबाब दिदै आएकोले अब छिट्टै पुस्तक आउनेमा आफू आशावादी रहेको लोकसेवा मा.बि. मध्यबिन्दुका प्रधानाध्यापक लेखराज भण्डारीले बताए ।
यसैगरी जिल्लाको हुप्सेकोट गाउँपालिका भने कक्षा १ को पुस्तक यसै सत्रदेखि बिद्यालयमा पठाएको छ, भने २,३ को पुस्तक तयारी अवस्थामा रहेको शिक्षा अधिकृत माधब गौतमले बताए । उनले भने जिल्लामा पुस्तक तयार पार्ने पालिका हुप्सेकोट हो हामीले ४ देखि ८ सम्मको पनि स्थानीय पुस्तकको तयारी अन्तिम चरणमा पुर्याएका छौं आउंदो शैक्षिकसत्र देखि बजेट प्रयाप्त रहेमा प्रत्येक बिद्यालयमा पुर्याउने जानकारी गराए । उनले पनि हामीले मात्र चासो दिएर भएन सबै कुरा पुग्नु पर्यो हतारमा गर्दा पछि पछुतो हुन्छकी भनेर व्यापक छलफलमा जुटेका छौं केही आर्थिक अभाव हुँदा ढिलो भयो अब बजेट प्रयाप्त हुना साथ ‘हाम्रो हुप्सेकोट’ पुस्तक आउँछ । हुप्सेकोटसंगै जोडिएको बौदिकाली गाउँपालिकामा यसै बर्षदेखि स्थानीय पाठ्यक्रममा चासो दिन थालेको छ । यो बर्षदेखि पाठ्यक्रम तयारी गर्ने शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारीले बताए । हामीले यो बर्ष पाठ्यक्रम तयारीको लागि बजेट बिनियोजन गरेका छौं । यो बर्ष पाठ्यक्रम तयारी गरेर अर्को बर्ष पुस्तक तयार गर्ने बताए । सरकारले स्थानीय पाठ्यक्रम लागू गरेको ४ बर्ष बित्यो तर शिक्षकले अझै पुस्तक देखेका छैनन् । जिल्लाको गैंडाकोट नगरपालिका, बुलिङटार गाउ“पालिका र बिनयी त्रिवेणी गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम तयारी गरे पनि अझैसम्म पुस्तक छपाईको प्रकृयामा नजादा यो बर्ष पनि बिना पुस्तक शिक्षक र बिद्यार्थीले अध्ययन अध्यापन गराउन बाध्य छन् । गैंडाकोट नगरपालिकामा स्थानीय पत्रकार श्रीधर उपाध्यायले ‘हाम्रो गैंडाकोट’ पुस्तक तयार गरेर बिद्यालयमा सहयोगी पुस्तक वितरण गरेका छन् यसले केही राहत मिले पनि प्रयाप्त भने छैन् नगरपालिकाले चासो लिनुपर्ने एक शिक्षकले बताए। नेपाल सरकारले स्थानीय पाठ्यक्रम १०० पुर्णाङ्क लागू गरे पनि अन्य बिषय सरह स्थानीय पाठ्यक्रमलाई नवलपुरका स्थानीय तहले चासो नदिएको देखिएको छ । ४ बर्ष बित्यो अझैसम्म पाठ्यक्रम बिकास केन्द्रले लागू गर्न निर्देशन दिए पनी लागू नहुनु पालिका र सम्वन्धित शाखाको लापरबाही भएको बिद्यार्थी नेता हुमन पाण्डेले बताए । बिद्यार्थीले समयमा पुस्तक पढ्न पाउनु उसको अधिकार हो यो किन ढिला भयो हामी बुझ्छौं उनले भने ।