मीना कंडेल
कावासोती, भदौ ११। नवलपुरको कावासोती ३ मा डिप ट्युबवेल सिँचाइ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा गाउँमा डिप ट्युबवेल सिँचाइ सञ्चालन भएपछि स्थानीय टेक बहादुर श्रेष्ठको खुसीको सीमा छैन । पहिले सिँचाइका लागि आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका किसानहरू अहिले सिँचाइ सुविधा पुगेपछि खुसी भएका छन् ।
पानी अभावकै कारण बाँझो जमिन राख्नुपर्ने समस्या भएपनि अहिले भने थप सहयोग पुगेको स्थानीय टेक बहादुर श्रेष्ठले बताउनुभयो । उक्त डिप ट्युबवेल सिँचाइबाट यहाँका २८१ घरघुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । डिप बोरिङ सञ्चालन भएपछि कावासोती क्षेत्रका कृषि विकासमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ ।
यो डिप बोरिङबाट ४० बिघा जमिनमा सिँचाइ गरिने छ । आयोजनाले किसानलाई सामूहिक रूपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ । डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रमा सिँचाइका लागि सहज हुने भएकाले कृषि उत्पादनमा २० प्रतिशतले बढोत्तरी हुने विश्वास रहेको कावासोती ३ का शालिकराम कोइरालाले बताउनुहुन्छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय भैरहवा लुम्बिनी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा पुरानो कावासोती डिप ट्युबवेल सिँचाइ समिति द्वारा डिप बोरिङ निर्माण गरिएको हो । आयोजनाका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो, “नदी सिँचाइ प्रणालीले नछोएका र आकासे पानीको भरमा खेती गरिरहेका कावासोती ३ का स्थानीयले यसै वर्षदेखि सिँचाइको प्रयोग गरी खेतीपाती गर्न पाउनेछन् । डिप ट्युबवेल सिँचाइमा कुल लागत ८६ लाख ५८ हजार २०३ रुपियाँ ९९ पैसा लगानीमा निर्माण भएको हो भने तीन लाख ७१ हजार १९३ उपभोक्ताले लगानी गरेको छ ।”
नगर प्रमुख विष्णु प्रसाद भुसालले भन्नुभयो, “नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पुर्याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो ।” डिप बोरिङ निर्माणपश्चात् ४० बिघा क्षेत्रफलको सिँचाइमा सहज हुने बताउनुभयो । बोरिङ सञ्चालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेतीको तयारी गर्नसमेत आग्रह गर्नुभयो । बोरिङको पूर्वाधार विस्तारका लागि नगरपालिकाले सहकार्य गर्नेसमेत उहाँले बताउनुभयो ।
पूर्व सांसद तिलक महतले अब खेती गर्नका लागि यहाँका जनताले आकाशे पानीमा निर्भर हुनु नपर्ने बताउनुभयो । कुनैपनि बहानामा खेतीयोग्य जमिन बाँझो राख्नु उपयुक्त नभएको भन्दै व्यावसायिक तवरबाट उक्त डिप बोरिङको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो ।