नवलपुर ।
म्याद नाघेको सामाग्री बिक्रि गर्ने पसललाई रु. ५० हजार जरिवाना तिराइएको छ । नवलपरासी ( बर्दघाटा सुस्तापूर्व ) नवलपुरको गैँडाकोटमा रहेको शिवकृपा स्टोरलाई म्याद नाघेका सामाग्री बिक्रि गरेको भेटिएकाले रु.५० हजार जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो ।
बजार अनुगमनका क्रममा उक्त पसलबाट धेरै मात्रामा म्याद नाघेका सामाग्री फेला परेको थियो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका सामाग्री बिक्रिमा राखेको पाइएपछि उक्त पसललाई नगद जरिवाना गरिएको प्रमुख खनालले बताउनुभयो ।
साउन ३० गते जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । उक्त अनुगमनमा म्याद नाघेका सामाग्री जफत गरि थप कारवाहीको प्रक्रिया अघि बढाइएको थियो । सोही अनुसार उक्त पसललाई उपभोक्ता संरक्षण ऐन र नियमावलीका आधारमा रु. ५० हजार जरिवाना गरिएको कार्यालय प्रमुख खनालले बताउनुभयो । ‘अनुगमनका क्रममा धेरै सामाग्री म्याद नाघेको भेटिएको थियो, उपभोक्ताको स्वास्थ्यमा असरपार्ने खालका उपभोग्य सामाग्री बेच्नु नियम विपरित हो, त्यसैले कारवाही गरेका छौँ’ प्रमुख खनालले भन्नुभयो । शिवकृपा स्टोरका संचालकले जरिवाना बापतको रकम कार्यालयको बैंक खातामा दाखिला गरेको उहाँले बताउनुभयो ।
उपभोक्ताको स्वास्थ्यमा असरपार्ने कुनै पनि सामाग्री बेचविखन नगर्न उहाँले विक्रेताहरुलाई अनुरोध गर्नुभयो । उपभोक्ताले समेत आफूले उपभोग गर्ने सामाग्रीको उत्पादन मिति, प्रयोग गर्न योग्य मिति लगायतको हेरेर मात्रै खरिदगर्नुपर्ने उहाँको भनाई छ ।
विभिन्न चाडपर्व नजिकिरहेको हुँदा बजारमा चामल लगायतका उपभोग्य सामाग्रीको अवस्था बुझ्ने जिल्ला प्रशासन कार्यालयले बिभिन्न समयमा अनुगमनका काम अघि बढाई राखेको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकिय अधिकृत भरत सापकोटाले बताउनुभयो । चाडपर्व नजिकिँदै जादा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई नियमित गरिने उहाँले बताउनुभयो ।
कुनैपनि उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरि मूल्य बढाउने , म्याद नाघेका समाग्री विक्रि गर्ने जस्ता कार्य नगर्न समेत उहाँले बिक्रेतालाई अनुरोध गर्नुभयो । अनुगमनका क्रममा त्यस्तो अवस्था फेला पारे जो कोही कारवाहीको भागिदार हुने उहाँको भनाई छ ।
