नारायण शर्मा,पूर्वी नवलपरासी ।
पूर्वी नवलपरासीको दुम्कौली स्थित शास्वतधाममा भोलिदेखि शुरु हुने हनुमान कथा प्रबचनकालागि आज काठमाण्डौ आइपुगेका भारत स्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्रीले आज सांझ ४ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार ४ बजे पशुपतिनाथ दर्शनकालागि आउने शास्त्रीलाई कोषले भब्य स्वागत गर्ने छ । पशुपतिनाथ मन्दिर दर्शन पछि शास्त्रीले सवा करोड दिप प्रज्वलन गर्ने छन । यो उनको इच्छा अनुसार गर्न लागिएको हो । त्यसपछि सांझ मन्दिर भित्रको आरती दर्शन गर्ने कार्यक्रम तय भएको छ । आजै सांझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मन्दिर परिसरमा हुने आरतीमा शास्त्री सहभागि हुने छन ।
त्यहा उनले हनुमान कथा प्रबचन दिने भनेर यस अघि प्रचार गरिएपनि त्यस्तो कार्यक्रम तय भएको छैन । उनि पुजा र आरतीमा मात्र सहभागि हुने खतिवडाको भनाई छ ।
बागेश्वर धामका संरक्षक र बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र कृष्ण शास्त्री आज बिहान एअर इन्डियाको जहाजवाट काठमाण्डौ आएका हुन । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको नेपालका चर्चित उद्योगपति बिनोद चौधरीको निजि मन्दिरमा हनुमान कथा प्रबचनकालागि नेपाल आएका हुन । शनिवार देखि सोमवार दिउसो ४ बजे सम्म उनले त्यहा हनुमान कथा प्रबचन गर्ने चौधरी ग्रुपले जनाएको छ ।
आज बिहान दिल्लीवाट काठमाण्डौ आइपुगेको शास्त्रीलाई चौधरी ग्रुपका निर्देशक बरुण चौधरी लगायतले एअरपोर्टमा स्वागत गरेका थिए ।
हिन्दु अतिवादी चरीत्रका भनेर विवादमा आइरहने शास्त्री ललितपुर स्थित चौधरीकै होटल भिवान्तमा शुक्रवार रात बिताउने छन ।
शनिवार काठमाण्डौवाट भरतपुर बिमानस्थल हुदै पूर्वी नवलपरासीको दुम्कौली स्थित बिनोद चौधरीको निजि मन्दिर शास्वतधाममा शास्त्रीलाई ल्याइने भएको छ । उनले त्यहा लगातार ३ दिन सम्म हुनुमान कथा वाचन गर्ने कार्यक्रम रहेको चौधरी ग्रुपले जनाइको छ । शास्वतधाममा शास्त्रीको कथा सुन्न भन्दै सर्वसाधारणलाई चौधरी ग्रुपले पास उपलब्ध गराएको छ । तिन दिन सम्म दैनिक करिब ११ हजार भन्दा धेरैले उनको कथा सुन्ने ब्यबस्था मिलाइएको चौधरी ग्रुपको भनाई छ । शास्वतधाममा सबै तैयारी पुरा भएको छ ।
दुम्कौली स्थित शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिर भनेर चिनिन्छ । यहा संस्कृत गुरुकुल समेत संचालित छ । त्यहा कक्षा ६, ७ र ८ सम्म संस्कृतमा समेत पढाइ हुन्छ ।
शास्वतधाम मन्दीरको प्रचारकालागि भन्दै चौधरी ग्रपले बिवादस्पद छविका शास्त्रीलाई आमन्त्रण गरेका हो । उनि मन्दिर परिसरमा रहेको मिराया होटलमा बस्ने छन । आउदो सोमवार उनि चितवनको मेघौली स्थित होटल ताज शेराइमा रहने र भोलीपल्ट काठमाण्डौ हुदै राती दिल्ली जाने कार्यक्रम तय भएको छ । शास्त्रीसंग करिब २५ जनाको टोली छ । भारतमा बागेश्वारधाम बाबा भनेर चिनिने शास्त्रीले कथित तल्लो तहका अछुतहरुलाई धार्मिक आडम्बरका आडमा हेप्ने गरेको भन्दै कतिपयले आलोचना गर्दै आएका छन ।
दुम्कौलीमा आवस्यक सबै सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यबिनोद चौधरीको निजि मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आएका हुन ।
शास्वतधाममा हुने कथा प्रबचनको प्रत्यक्ष प्रशारणकालागि ८ वटा भारतिय टेलिभिजन च्यानलका प्रतिनिधि शुक्रवार नवलपरासी आइपुगेका छन । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणिय र आर्कषक शैलीको हिन्दु मन्दिर हो । शास्त्रीले भारत र नेपाल हिन्दु धर्म अबलम्बन गर्नु पर्ने आबस्यकता रहेको भन्दै आएका छन । उनको कथा सुन्नकालागि शास्वतधाममा प्रबेशकालागि मन्दिरले अनलाइन पासको ब्यबस्था गरेको छ ।