18.1 C
Kathmandu
Flowers in Chania

संसदीय समितिको नेतृत्वमा सहमति

- Advertisement -

साउन ३१ गते  

गण्डकी प्रदेश सभामा संसदीय समितिको नेतृत्वमा सहमति जुटेको छ। दलहरूबिच नेतृत्वमा सहमति जुटेपछि समितिका सदस्यसमेत प्रदेश सभाबाट अनुमोदन भएका छन्। मङ्गलबार बसेको प्रदेश सभा बैठकले चार समितिका सदस्यको नाम अनुमोदन गरेको हो। 

गण्डकी प्रदेश सभामा चार समिति हुन्छन्। तीमध्ये नेपाली कांग्रेसलाई दुई, नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक र माओवादीलाई एक समितिको नेतृत्व दिने गरी सहमति जुटेको छ। प्रदेश सभा गठन भएको करिब आठ महिनापछि मिनी संसद्का रूपमा चिनिने समिति गठन भएका हुन्। अर्थ तथा विकास र प्रदेश मामिला समितिको नेतृत्व सत्तारूढ दल नेपाली कांग्रेसले पाउने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समिति पाएको छ। अर्काे सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले सामाजिक विकास तथा कृषि समितिको नेतृत्व पाउने सहमति बनेको छ। अर्थ तथा विकासमा भोजराज अर्याल र प्रदेश मामिलाको नेतृत्व चम्पादेवी खड्काले पाउने कांग्रेस निकट स्रोत बताउँछ।  

सामाजिक विकास तथा कृषि समिति सभापति भने माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पाउने करिब पक्का भएको छ। माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जित्नुभएका देवकोटा नेपाल समाजवादी पार्टीका नेता हुनुहुन्छ। माओवादी केन्द्रले उहाँलाई मन्त्री बनाउन चाहे पनि भागमा दुई मन्त्रालय मात्र परेकाले समेट्न सकेको थिएन। 

सार्वजनिक लेखा समितिमा एमाले सांसदहरू सुधीर पौडेल र भीमबहादुर कार्कीको चर्चा छ। प्रदेश सभाको आगामी बैठकमा समितिका सभापति चयन हुने सम्भावना छ। मङ्गलबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बाढीपहिरोपीडितलाई राहत दिन र बिग्रिएका संरचना तत्काल मर्मत गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद कुसुम बुढामगरले आँखा पाक्ने रोगको प्रकोप नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो।  

संसद्मा विशेष सम्बोधन गर्दै एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो पालामा भएका नियुक्ति अहिलेको सरकारले खारेज गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “हामी प्रतिशोधका लागि उभिएका हौँ र ?” ‘लम्पी स्किन’ ले किसान आहात भएको भन्दै उहाँले सङ्कट घोषणा गरी तत्काल विशेष राहत दिन माग गर्नुभयो। 

प्रदेश सभा सदस्यका क्षेत्रमा भएका कामबारे सम्बन्धित सदस्यलाई नै जानकारी नभएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। एमालेलाई लेखा समितिको मात्र नेतृत्व दिइएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो। एमालेले दुई समिति सभापतिमा दाबी गर्दै आएको थियो। 

सांसद अधिकारीले प्रदेशका भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग सञ्चालन हुने वातावरण बनाउन माग गर्नुभयो। उहाँले भन्नुभयो, “ती उद्योगले हामीलाई गिज्याइरहेका छन्। शीघ्र सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछु।”

सभामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गण्डकी प्रदेशभित्रका वनलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक पेस गर्नुभयो। गत बिहीबार र सोमबारलाई राखिएको बैठक बिजनेस नभएपछि स्थगित भएको थियो। 

प्रदेश सभामा एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुई प्रस्ताव दर्ता गराएको छ।    

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्