24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान

- Advertisement -Flowers in Chania

चितवन, साउन १७-

चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उहाँले जानकारी दिनुभयो ।

अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ ।” प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उहाँले बताउनुभयो । सातै पालिकामा पालिएका गाईभैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “स्वस्थ पशुलाई खोप लगाइन्छ ।” जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई लम्पी स्किनबाट मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने र लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्छ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो । (रासस)

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्