चितवन,साउन ५-
निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २ सय २० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किट तत्कालका लागि १ सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।
हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी, प्राधिकरणले काम ढिला गरेबापत झन्डै १६ लाख डलर विलम्ब जरिमाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेन्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकी टोलको पुरानो हेटौंडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीको नयाँ भरतपुर सबस्टेसनसम्मको २ सय २० केभी प्रसारण लाइनलाई १ सय ३२ केभीमा चार्ज गरिएको छ ।
हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ झन्डै १ सय ७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १ सय ३२ केभी प्रसारण लाइनबाट झन्डै ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुनेछ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
निर्माण कार्य नसकिँदै विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकदेखि हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थाना भ¥याङमा निर्माणाधीन सबस्टेसनमा लाइन लैजान २ सय २० केभी चार सर्किट (मल्टी सर्किट) का दुईवटा टावर निर्माण भइरहेको छ । यो काम आउँदो भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।
यता भरतपुर–बर्दघाट खण्ड साउनभित्र पूरा हुने भएको छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन खण्ड आउँदो साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतदेखि यस खण्डमा पर्ने दुईवटा टावर निर्माण रोकिएको थियो । जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन । सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । १ दशमलव ७ किलोमिटर तार तान्न अहिले काम सुरु गरिएको छ ।