तिर्थराज डुम्रे
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानको लागि जग्गा नापी शुरु भएको छ । नगरपालिकाको वडा नं. १ बाट सोमबार देखि नापीको काम शुरु भएको हो ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसंगको सहकार्यमा नापीको काम शुरु भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाको सबै भन्दा बढी भूमि सम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम शुरु भएको हो । जहाँ ४० भूमिहिन दलित, ७३ भूमिहिन सुकुम्बासी र ६ सय ४३ जना अव्यवस्थित बसोबासीले समास्या समाधानको लागि फारम भरेका छन् ।
मध्यविन्दु–१ बाट शुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकै साथ अगाडी बढाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । लामो समय देखि राजनितिक मुद्दामा सिमित बनेको भूमि सम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताउनुभयो । “निर्वाचनको समयमा सबै राजनितिक दलले सुकुम्बासी समस्या समाधानमा प्रतिबद्धता जनाउने । तर, सत्ता केन्द्रीत मनस्थितिले पुरा नहुने जुन स्थीति छ । त्यसको अन्त्य हुनुपर्छ । ” – नगर प्रमुख अधिकारीले भन्नुभयो – “अब नापीको काम शुरुवात भयो । स्थानीय सरकारले आफ्नो तर्फबाट जग्गा नापजाँच सहितको काम चाडैं सक्छौं । विगतमा केपी ओलि नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन हुदाँ काम रोकियो । फेरी त्यस्तै नहोस् ।”
नगरपालिकाबाट गएको नापी टोलिले जग्गा नापजाँचको काम शुरु गरेपछि स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । सेतापानीमा २०६१–६२ सालमा बस्ती बसेको थियो । धेरै पटक आश्वासन पाएपनि अहिले नापीको काम नै शुरु हुदा अब जग्गाधनि पुर्जा पाउने विश्वास भएको स्थानीय यादव कुमारी महत्तोले बताउनुभयो । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजिमा सेतापानी पुग्नु भएकी महत्तोले विगतमा बस्ती बस्दा गर्नु परेको संघर्ष निकै कहानी लाग्दो भएको स्मरण गर्नुभयो । “स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्दकाल थियो निकै डर लाग्थ्यो ।” महत्तोले भन्नुभयो –“ के गर्ने उता नारायणीले बगायो । यहीं सबै सहेर बसेको, अब त नापीको काम शुरु भयो । मेयर सरहरु पनि आउनु भएको छ । अब चाहीं जग्गा पाउछ भन्ने विश्वास लागेको छ ।”
स्थानीय लक्ष्मी बि.क. ले जग्गाधनि पुर्जा नहुदाँ निकै समस्या भोगेको भन्दै अब सजिलो हुने बताउनुभयो । १९ वर्ष देखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउदा खुशी लागेको स्थानीय राधिका चौधरीले सुनाउनुभयो ।
जग्गा नापीको काम भईरहदा हुन सक्ने समस्याहरु समाधानको लागि स्थानीय स्तरमा सहजिकरण समिति गठन गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले बताउनुभयो । विभिन्न स्थानमा पोइन्टहरु निर्धारण गरेर नापीको काम शुरु भएको अमिन सरोज प्रसाद कुशवाहले बताउनुभयो । जग्गाको भौगलिक बनावट, जग्गाको साँधियाहरु बीचको समझदारी लगायतको आधारमा जग्गा नापजाँचको लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचको लागि राष्ट्रिय भूमिआयोगबाट प्राप्त जनशक्ति संगै स्थानीय स्तरमा सर्वेक्षक सहितको प्राविधिकहरु समेत नियुक्ती गरी जग्गा नापजाँचको काम अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहिन दलित, एक हजार एक सय ३२ भूमिहिन र ६ हजार दुई सय ७२ अव्यवस्थितले बसोबासको लागि फारम भरेका छन् ।