कावासोती,
वैशाख ११ गते
पूर्वी नवलपरासीको गैँडाकोटमा भीमप्रसाद शर्माको एघारौँ एकल चित्रकला प्रदर्शनी भएको छ । साहित्य, कला, संगीत ,संस्कृतिको विकास र संरक्षणमा स्थानीयदेखि केन्द्रीय स्तरका प्रज्ञाप्रतिष्ठानहरुको समन्वय र भूमिकाका विषयमा अन्र्तकृया गर्दै एघारौँ एकल चित्रकला प्रदर्शनी गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनु भयो ।
शर्माले यसअघि नवलपरासी, चितवन र काठमाडौँसँगै जर्मनी र क्यानडामा पनि एकल चित्रकला प्रदर्शनी गराई सक्नु भएको छ भने जर्मनीमा तीन पटक र क्यानडामा १ पटक उहाँका चित्रकलाको प्रदर्शनी भएका छन् । भारत, बंगलादेश र अफगानिस्तानमा पनि शर्माले संयुक्त चित्रकला प्रदर्शनीमा सहभागिता जनाउनु भएको छ । गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा चित्रकार भीम शर्माका २७ वटा चित्रहरु राखिएको छ । किसान ग्यालरीमा भएकोे चित्रकला प्रदर्शनी दुई हप्तासम्म चल्ने कलाकार शर्माले बताउनुभयो ।
कार्यक्रममा अञ्जान प्रदीपको निर्देशन रहेको स्वप्ननयन नाटक समेत मञ्चन गरिएको छ । नाटकमा ७ जना कलाकारहरुको अभिनय रहेको थियो । यसैगरि “इन्थंविध चित्र ः इत्थंविध कविता” चित्र कवितासंग्रहको पनि विमोचन गरिएको छ । संग्रहमा गोविन्दराज विनोदी, सुमन पोखरेल, गीता त्रिपाठी, गोपी सापकोटा र सुदेश सत्यालका कविता छन् । यस संग्रहमा १३५ वटा कविता रहेका छन् भने चित्र २७ वटा रहेका छन् । चित्रहरु कवितामा आधारित रहेका छन । चित्र कलाकार भीम शर्माले बनाउनुभएको हो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख तथा नगर प्रज्ञाप्रतिष्ठानका कुलपति मदनभक्त अधिकारीले गैँडाकोटको साहित्य, कला, संगीत र संस्कृतिको विकासका लागि प्रज्ञाप्रतिष्ठानले निरन्तर विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । साहित्य, कला र संगीतको विकासले नगरको पहिचान बढ्ने धारणा राख्नुभयो ।
उपप्रमुख शान्ति कोइराला, गैँडाकोट नगरप्रज्ञा प्रतिष्ठानका पकुलपति गोविन्दराज विनोदी लगायतले मन्तव्य राख्दै नगरप्रज्ञाप्रतिष्ठानले कला र संस्कृतिको संरक्षणको क्षेत्रमा अघि बढ्ने धारणा राखेका थिए । कार्यक्रममा एकसयभन्दा बढी स्रष्टासर्जकहरुको सहभागिता रहेको थियो ।