नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा रहेको वन क्षेत्रमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार जिल्लाका विभिन्न वनहरुमा गरि गत फागुन यता सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा मात्रै ५३ स्थानमा डढेलो लागेको सूचना प्राप्त भएको बताउनुभयो ।
सूचना अधिकारी गौतमका अनुसार दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । गत चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल हाल बढ्नसक्ने उहाँले बताउनुभयो । ‘कतिपय स्थानबाट सूचना आउँदैन, सबै गर्दा प्राप्त क्षेत्रफल भन्दा केही धेरै डढेलो लागेको हुन सक्छ’ सूचना अधिकारी गौतमले भन्नुभयो ।
नवलपुरमा अहिले करिब ३५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो । ‘ गएको फागुन यता चैत सम्मको तथ्याङ्कमा २६ सय बढि हेक्टर वनमा आगो लागेको छ, अहिले पनि विभिन्न ठाउँमा डढेलो लागेको छ, यसले हाल करिब ३५ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान छ’ उहाँले भन्नुभयो ।
फागुनमा खासै डढेलोका घटना नभएपनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा डढेलो लागेको सूचना अधिकारी गौतमले बताउनुभयो । ५३ स्थानमा लागेको डढेलो सबैजसो चैत महिनामा लागेको र ति सबै क्षेत्रमा हाल आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो । अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको उहाँको भनाई छ ।
वनमा हुने डढेलो नियन्त्रणका लागि चैतको पहिलो साता डढेलो नियन्त्रण सम्बन्धी साताव्यापी कार्यक्रम गरिएको थियो । मानविय कारणलेनै वनमा डढेलो लाग्ने गरेकाले वन कार्यालयले साताव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । यहाँ रहेका सामुदायिक वनले समेत नियमित हेरालु बाहेक डढेलो नियन्त्रणका लागि थप मौसमी हेरालु राख्ने, अग्नि नियन्त्रण समूह निर्माण गर्ने गरेका छन् । तरपनि पूर्ण रुपमा डढेलोबाट वन जोगाउन भने नसकिएको सूचना अधिकारी गौतमले बताउनुभयो ।
वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले वनमा आगलागीका घटना हुने गरेका छन् । कहिलेकाँही सिकारीले वन्यजन्तुको सिकार गर्नपनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाड्न वनमा आगो लगाउन चलन भएपनि नवलपुरमा यस्तो भने हाल नरहेको सूचना अधिकारी गौतमले बताउनुभयो ।
डढेलोका कारण वनमा धेरै क्षतिपुग्ने भएकाले यसको नियन्त्रणका लागि सबै सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । गलत धारणाका कारण मानिसले जानाजानी वनमा आगो लगाउँदा नयाँ बुट्यानहरु जलेर नष्ट हुने , वन्यजन्तु आगोमा जलेर मर्ने , धुँवाका कारण मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न र यदि कतै डढेलो लागिहाले समयमै नियन्त्रणमा लिन सबै लाग्नुपर्ने बताउनुभयो ।
जिल्लाको वनक्षेत्रमा लागेको डढेलोका कारण वायुमण्डल धुँवाले ढाकेको छ । जिल्लाको सबै जसो क्षेत्रमा अहिले धुँवाको बादल लागेको छ । वायुमण्डल धुँवाले ढाक्दा आँखा पोल्ने समस्या समेत देखिएको छ ।
धुँवाका कारण आँखा पोल्ने ,स्वास प्रस्वासमा समेत समस्या उत्पन्नहुन सक्ने मध्यविन्दु जिल्ला अस्पतालका जन स्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । यसकालागि आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र स्वास प्रस्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाए अपनाउन सकिने उहाँले बताउनुभयो । नवलपुरमा करिब ७० हजार ४ सय हेक्टर क्षेत्रफलमा वन रहेको छ ।