नवलपुर।
rनवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको नमूना सदरमुकाम निर्माणगर्ने भन्दै विसं. २०७६ वैशाख ७ गते शिलान्यास भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको कावासोती– ३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यका साथ शिलान्यास गर्नुभयो । आज शिलान्यासको चार वर्ष पुरा भएको छ । तर शिलान्यासको चारवर्षमा जिल्लाको नमूना सदरमुकाम बनाउने परियोजनाको नक्साङ्कनमा बितेको छ ।
नमूना सदरमुकाम निर्माण स्थलमा बनाउने भनिएका कुनै पनि सरकारी कार्यालयका भवनको हालसम्म काम सुरु भएको छैन् । । नमूना सदरमुकाम स्थल चार वर्ष बित्दा समेत खुला चौरकै रुपमा रहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले नमूना सदरमुकाम निर्माणको कामलाई हेरिरहेको छ ।
कार्यालयले यस अघि करिब रु. १० करोडको लागतमा कच्ची बाटोहरू निर्माणको काम गरेको छ । त्यस बाहेक नमूना सदरमुकामको गुरुयोजना परिमार्जन गरि अन्तिम रूप दिनलाई मात्रै चारवर्ष बितेका छन् । पछिल्लो पटक गएको फागुनमा गुरुयोजनालाई अन्तिम रूप दिने भन्दै कार्यालयको रोहबरमा सरोरकारवाला बिचको पाँचौ बैठक बसेको थियो । चार÷चार वर्ष सम्म गुरुयोजना परिमार्जनकै विषयमा अलमल गर्दै बितेको भनेर यहाँका राजनीतिक दलका प्रतिनिधिले गुनासो व्यक्त गरेका छन् ।
‘नमूना सदरमुकाम जिल्लावासीको सपना हो, यो गौरवपूर्ण आयोजना जतिसक्दो चाडो बन्नुपर्छ भन्नेमै सबै जनताको माग छ’ पूर्व सांसद तिलक महतले भन्नुभयो । नमूना सदरमुकाम निर्माण गर्न नेपाल सरकारको नाममा जग्गा प्राप्तीका लागि विशेष रुपमा लाग्नुभएका नेता महतले अब सरकारी संरचनाहरू निर्माण गर्ने विषयमा ढिलो गर्न नहुने बताउनुभयो । देशकै ७७ वटा जिल्ला मध्य नयाँ जिल्लाका रुपमा विकास हुँदै गरेको नवलपुरको सदरमुकाम सबैले हेर्न लायक बनाउनुपर्ने उहाँले बताउनुभयो । अहिले विभिन्न सरकारी कार्यालयहरू साँघुरा भाडाका घरबाट सञ्चालन हुँदा सेवाग्राही मैत्री नभएकाले जतिसक्दो चाडो नमूना सदरमुकाम निर्माण स्थलमा आवश्यक कार्यालयहरू स्थापना गरि सेवाग्राही मैत्री तवरले सहज रुपमा सेवादिने वातावरण बनाउनुपर्ने महतले बताउनुभयो ।
नमूना सदरमुकाम निर्माण स्थलमा संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालयहरू निर्माण गर्ने गरि प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो । सुरुमा एकीकृत रुपमा एउटै भवनबाट सबैजसो कार्यालयका सेवा प्रदान गर्ने गरि योजना अघि बढाइएको थियो । सेवाग्राहीलाई सेवा लिन सहज हुने धारणाका साथ यस्तो डिजाइन अघि सारिएको भएपनि हाल सेवाका प्रकृति मिल्ने दुई कार्यालय एकै स्थानमा रहने गरि काम अघि बढाउन लागिएको छ ।
नमूना सदरमुकाम निर्माणको काम हेरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपट बहादुर थापाका अनुसार केही भवन निर्माण गर्ने गरि योजना अघि बढेको बताउनुभयो । केही कार्यालयको नंक्साङ्नको काम सकिएको र लागत अनुमानको काम समेत सकिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । एकैवर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरुले बहुवर्षिय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयले बहुवर्षियका लागि स्विकृत दिने वित्तिकै भवन निर्माणको ठेक्का निकालिने कार्यालय प्रमुख थापाले बताउनुभयो । सडक निर्माणमा कुनै समस्या नभएको तर भवनका लागि बहुवर्षिय योजनाका रुपमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । ‘हामि काम गर्न तयार छौं, बहुवर्षिय योजनाका रुपमा काम गर्न अर्थमन्त्रालय सम्म फायल पुगेको छ, स्विकृत हुने वित्तिकै काम अघि बढाउछौं’ कार्यालय प्रमुख थापाले भन्नुभयो ‘ बहुवर्षिय स्विकृतको काम नहुँदा अलमल भएको छ ।’
सदरमुकाम निर्माण स्थलमा संघ र प्रदेश मातहतका जिल्ला स्तरका सबै कार्यालय , पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला , सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्क लगायतका संरचनाहरू समेत निर्माण हुनेछन् । यि संरचना निर्माणका लागि चार वर्ष पहिले यहाँ रहेको एक सय ८७ विघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक गुरु योजना अनुसार करिब रु. १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।