24.1 C
Kathmandu
Wednesday, November 29, 2023
- Advertisement -Flowers in Chania
Banner

कुश्मा, चैत ९–

पर्वतको कुश्मा बजारमा चितुवा देखा पर्‍यो।

चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे। यो बुधबार बिहानको घटना हो।

पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्यो। त्यसपछि छेउमा रहेको ओमबहादुर रेग्मीको घरको भान्छा कोठामा पस्यो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भइसकेका थिए। घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा साँचो लगायो।

‘करिब तीन घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ’, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले भने, ‘कुनै पनि अप्रिय घटना हुन पाएन। वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ।’

चितुवा हेर्न आउनेको भीड हटाउन प्रहरीलाई मुस्किल परेको थियो। डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनुपरेको थियो।

‘हामीले भेटेरिनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ’, वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, ‘भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्क्याएपछि चितुवा खोरमा पस्यो। बेहोस नबनाइकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ।’

नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिए।

‘भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्रमा राख्ने सोचेका थियौँ। तर त्यो पोथी चितुवा रहेछ। हामीसँग पोथी चितुवा भएकै स्थितिमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्रमा राख्न सक्दैनौँ’, उनले भने।

चितुवाका कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ। डेढ वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

दुई हप्ताअघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए। तर उक्त चितुवा जिउँदो नभएर मरिसकेको थियो। रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्