24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

दुर्गा प्रसाईँले लिएको बैंकको सात अर्ब ऋण जोखिममा, थप ऋण नदिने ‘अनौपचारिक निर्णय’

- Advertisement -Flowers in Chania

twitter sharing button

दुर्गा प्रसाईँले लिएको बैंकको सात अर्ब ऋण जोखिममा, थप ऋण नदिने ‘अनौपचारिक निर्णय’

काठमाडौं । झापामा अस्पताल व्यवसाय सञ्चालन गर्ने दुर्गा प्रसाईँ आवद्ध कम्पनीलाई थप ऋण नदिने बैंक तथा वित्तीय संस्थाले अनौपचारिक रुपमा निर्णय गरेका छन् ।

पछिल्लो समय प्रसाईँ बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने तथा बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीलाई कालोमोसो दल्नेलगायतका अराजक गतिविधिमा सक्रिय छन् ।

माओवादी, एमाले हुँदै अहिले राजासहितको हिन्दुराज्य चाहिने अभियानमा हिँडेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेमा ७ अर्ब रुपैयाँ जोखिममा पर्ने देखिएको छ ।

झापामा प्रसाईँले बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर हस्पिटल सञ्चालन गर्छन् । बी एण्ड सी मेडिकल कलेजमा प्रसाईँको २५ प्रतिशत स्वामित्व छ ।

प्रसाईँले अस्पताल सञ्चालन तथा अन्य व्यवसाय सञ्चालन गर्नको लागि ७ अर्ब रुपैयाँजति ऋण लिएको भेटिएको छ ।

माघको अन्तिम सातादेखि बैंकको ब्याज तिर्न नहुने तथा २० लाखसम्मको ऋण मिनाह हुनुपर्ने माग राख्दै अराजक गतिविधि गर्दै हिँडेका प्रसाईँले पुस मसान्तसम्मको भने ब्याज तथा किस्ता नियमित तिरेका थिए ।

सहवित्तीयकरण अन्तर्गत प्रसाईँले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् ।

प्रसाईँले अराजक गतिविधि गरेपछि बैंक तथा वित्तीय संस्थाका उच्च कर्मचारी सञ्चारमाध्यमसँग उनको नाम लिएर कुरा भने गर्न चाहँदैनन् ।

प्रसाईँलाई ऋण दिएका केही बैंकका उच्च कर्मचारीसँग बाह्रखरीले कुरा गर्दा सबैजना उनको विषयमा औपचारिक रुपमा कुरा गर्न तयार भएनन् ।

प्रसाईँको गतिविधि अराजक खालको भएको र उनको नाम लिएर सञ्चारमाध्यममा प्रतिक्रिया दिनु ठिक नदेखिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

“प्रसाईँ मेडिकल कलेजमा संलग्न भएसम्म अनौपचारिक रुपमा ऋण नदिने सहमति हाम्रो हो,” एक बैंकका सीईओले भने, “ऋणको ब्याज तिर्ने होइन, कालोमोसो दल्ने हो भन्नेलाई अब थप ऋण दिने कुरा हुँदैन ।”

बैंकरहरुले यस्तो सन्देश दिएपछि बी एण्ड सी मेडिकल कलेजका साझेदारले बैंकलाई प्रसाईँ व्यवसायमा संलग्न नहुने खालको सन्देश पठाएका छन् ।

“प्रसाईँजी अब व्यवस्थापनमात्र होइन सञ्चालक समितिमा समेत रहनु हुने छैन भन्ने सन्देश अन्य सञ्चालकबाट आएको छ,” ऋण दिएका एक बैंकरले जानकारी दिँदै भने, “ऋण नतिर्ने स्थिति नआउने आश्वासनसमेत अन्य सञ्चालकबाट आएको छ ।”

बैंकरका अनुसार प्रसाईँले नियमित रुपमा ब्याज तथा किस्ता रकम नतिरेमा दिएको ऋण रकम डुब्ने स्थिति आउने छ ।

“धितोभन्दा बढी ऋण गएको कुरा सत्य हो, किस्ता नतिरेमा दिएको ऋण रकम प्रोभिजन गर्नुपर्छ,” एक बैंकका सीईओले सुनाए, “अस्पतालका अन्य सञ्चालकको कुरा सुन्दा त्यो स्थिति आउने भने छैन ।”

बी एण्ड सीमा रामबाबु गिरि, इन्धिरा गिरीको पनि लगानी छ । उनीहरु प्रसाईँका आफन्त हुन् ।

बैंकहरुले तिनुपर्ने ऋणको ब्याज तथा किस्ता ३ महिनामा नतिरेमा कुल ऋण रकमको २५ प्रतिशत, ६ महिनामा नतिरेमा ५० तथा एक वर्षमा समेत नतिरेमा शतप्रतिशत रकम नोक्सानी व्यवस्थाको लागि छुट्याउनुपर्छ ।

यस्ता ऋणीको धितोमा राखिएको सम्पत्ति लिलाम हुने र कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने राख्छन् । कालोसूचीमा परेका व्यक्ति तथा फर्मले ऋण नतिरेसम्म अर्को बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँदैनन् ।

प्रसाईँले मेडिकल कलेज सञ्चालनको लागि झापामा बी एण्ड सी कलेज खोलेका थिए । तर, यसको मेडिकल कलेज सञ्चालनको लागि भने सरकारले अनुमति दिएको छैन ।

बी एन्ड सीको गतवर्षको कारोबार एक अर्ब १९ करोड, दुई अर्ब ७० करोड ऋणको रेटिङ

बी एण्ड सी मेडिकल कलेजले गत आर्थिक वर्षमा एक अर्ब १९ करोड रुपैयाँको कारोबार गरेको देखिएको छ ।

केयर रेटिङ एजेन्सीका अनुसार बी एण्ड सीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कारोबार ४६ प्रतिशतले बढेको देखिएको छ ।

अघिल्लो वर्ष २०७७–७८ मा बी एण्ड सीले ८१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।  आर्थिक वर्ष २०७६–७७ मा भने ५३ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो ।

केयर रेटिङका अनुसार बी एण्ड सीको कारोबार रकममा कर, ब्याज तथा मूल्य ह«ास कटौती अगाडिको नाफा अनुपात(पीबीआईएलडीटी) ३५ प्रतिशत रहेको छ ।

बी एण्ड सीले दुई अर्ब ७० करोड रुपैयाँको लागि रेटिङ गरेको छ ।

जसमा दीर्घकालीन ऋणको लागि दुई अर्ब ६० करोड टर्म लोन तथा अल्पकालीन अवधिको लागि १० करोडको फण्ड बेस लिमिट रहेको छ ।

यसको लागि केयर नेपालले ‘डबल बी माइनस’ रेटिङ दिएको छ । यो भनेको बी एण्डसी लाई दिएको ऋणमा जोखिम रहेको जनाएको हो । फण्ड बेसको लागि गराएको १० करोडको ऋणमा भने जोखिम देखिएको छैन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्