
नवलपुर । बुलिङटार गाउँपालिकामा गणपुरक सङ्ख्या नपुगेपछि १२ औँ गाउँसभा बस्न सकेको छैन । शुक्रबारका लागि आह्वान गरिएको १२ औँ गाउँसभामा समेत गणपुरक सङ्ख्या पुगेन ।
माघ १० गते आह्वान गरिएको गाउँसभामा सदस्य नआएपछि स्थगित गरी १९ गते शुक्रबारका लागि डाँकिएको थियो । सो सभामा समेत बहुमत सदस्यहरु अनुपस्थित रहे । सभामा प्रस्तुत गरिने बजेट बाँडफाडका विषयमा कुरा नमिलेको जनाईएको छ । दुईपटक सम्म स्थगित भएको १२ औँ गाउँसभा पुनः आईतबार २१ गतेका लागि आह्वान गरिएको छ ।
माघ १९ गते गाउँ सभामा गणपुरक सङ्ख्या नपुगेपछि पुनः कार्यपालिका बैठक बसी एजेण्डा तय गर्नुपर्नेमा त्यसो हुन नसकेको बुलिङटार गाउँपालिका उपाध्यक्ष दिलमाया रानाले बताउनुभयो । सोही असन्तुष्टिका कारण सदस्यहरु नआएको बुझिएको उहाँले बताउनुभयो । यद्यपी शनिबार समेत सभा सञ्चालनबारे सदस्यहरुसँग छलफल भइरहेको उहाँको भनाई थियो ।
बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले १२ औँ गाँउ सभा (हिउँदे अधिवेशन) आइतबारका लागि बोलाइएको जनाउँदै सभामा ११ औँ सभामा पेश गरिएको बजेट परिमार्जन एवं संशोधन, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूचि रहेको जानकारी दिनुभयो ।
यस विषयमा बुझ्न बुलिङटार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारीसँग फोन सम्पर्क गर्दा उठ्न सकेन । बुलिङटार गाउँपालिकाको कार्यपालिकामा १४ जना र नगरसभामा ३३ जना सदस्य रहेका छन् । गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी नेकपा एमालेबाट निर्वाचित हुन् भने उपाध्यक्ष दिलमाया राना सहित सभामा बहुमत सदस्य नेपाली काँग्रेसबाट निर्वाचित रहेका छन् ।