2023-02-14-12-13-15.jpeg)
गैंडाकाेट पवित्रा पराजुली
पानीको मुहान संरक्षण पछिल्लो समय चुनौती बन्दै गएको छ । बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि लगायतका कारणले पनि पानीको मुहान सुक्दै गएको संरक्षणकर्मीहरु बताउँछन् । मानवीय त्रुटिका कारण पनि मुहान सुक्दै गएका छन् । यसको संरक्षण आजको आवश्यकता पनि हो । यसका लागि सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजना मार्फत विविध गतिविधि भइरहेका छन् । मुख्यगरी सिमसार क्षेत्रहरुको संरक्षण, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने कार्यमा सहजिकरण गर्दै आएको छ । जलाधार संरक्षणमा अबको भूमिकाबारे सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाका संयोजक दिनेश वास्ताकोटीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, विजय खबरका संवाददाता पवित्रा पराजुलीले गरेको कुराकानीको सम्पादित अंशः
नवलपुरमा पानीको मुहानको अवस्था कस्तो छ ?
अहिले नवलपुरमा मात्र नभई विश्वभरी नै पानी संकटको अवस्थामा रहेको छ । पहिला प्रशस्त रुपमा रहेका पानीका मुहानहरु अहिले घट्दै गएको छ । घट्दै जानुका कारण भनेको मानवीय क्षतीका कारण नै हो । हामीले जानी नजानी गरेको विकासका कारण पनि हो । अब यस्तै स्थितीमा जाने हो भने केही वर्षमै मरुभूमिको स्थितीमा पुग्छौ । यसरी नै अगाडी बढे ५ वर्षपछि नै पानीको हाहाकार नहोला भन्न सकिदैन् । त्यसैले पानीको मुहान संरक्षण गर्न आवश्यक छ ।
मानवीय कारण पानीको मुहान सुक्दैछ भनेको के हो ? मानवले त्यस्तो के गल्ती गरे ?
बाटोघाटो निमार्ण गर्दा पानीको मुहानको संरक्षण नगर्ने, त्यहीँ पानीको मुहान छ भने त्यसलाई नजोगाउने । डोजरले पानीको मुहानहरु पुरि दिने यसरी मुहान पुर्दा पानी सुक्दै जान्छ । जथाभावी रुपमा फोहर गर्ने, रुखहरु काट्ने यस्ता कारणले पनि यो समस्या आएको हो । त्यसैले हामी अहिले यि मुहानहरुको संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका छौँ ।
नारायणी नदीसँगै यसको वरपर रहेका जलाधार जोगाउन गर्नुपर्ने कामहरु के–के हुन् ?
(1).jpg)
पहिला नवलपरासीको आरुङखोलादेखी नारायणगढसम्म धेरै खोलाहरु थिए । आज भन्दा १० वर्ष अगाडी ति खोलामा बाह्रैमास पानी बग्थ्यो । खहरे खोलाहरुमा पनि ठूलै पानी हुन्थ्यो । बर्खामा त पुलहरु नै बगाउने अवस्था आउथ्यो । अहिले बर्खामा पानी पर्दा मात्र पानी देखीन्छ । नत्र अघिपछि खोलामा पानी हँुदैन । नारायणी नदी पनि सुक्दै गइसक्यो । पानीको सतह घटेको छ । पहिलाको तुलनामा नारायणी नदीमा पनि पानी कम देखिन्छ । अहिलेको स्थितीलाई यसै छोड्ने हो भने पछि पानीको हाहाकार हुने निश्चित छ । त्यही भएर हामीले नारायणी नदीसँगै यसको छेउमा रहेको सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका छौँ । यसका विभिन्न आयाम छन् ।
ती आयामहरु भनेको के हो ?
पानीको रिचार्ज पानीले नै गर्छ । सिमसार क्षेत्रको संरक्षण नगर्दा पहिला कलधारामा पानी आउदैन्थ्यो थियो । सिमसार संरक्षण गरेपनि आसपासका स्थानमा अहिले बाह्रौमासे पानी आउने सम्म भएको छ । यो किन त भन्दा सिमसार क्षेत्रले जमिन मुनीको पानीलाई रिचार्ज गरेकै कारण भएको हो । थोरै बोरिङ्ग खनेपनि पानी आउन थालेको छ । सिमसारले नै पानीको रिचार्जमा सहयोग गरेको छ ।
गैँडाकोटमा सिमसार क्षेत्रको संरक्षणको अवस्था कस्तो छ ?
गैँडाकोटमा विभिन्न सामुदायिक वनसँगको सहकार्यमा सिमसार निर्माण कार्यमा डब्लु डब्लु एफएसँगको सहकार्यमा सहमतिले पनि सहयोग गर्दै आएको छ । केही प्राकृतिक रहेका छन् भने केही ठाउँमा निर्माण गरिदै छ । मौलाकाली वन, नन्दन वन, नारायणी वन, भेडाबारी वनमा सिमसार बन्नेक्रममा छन् । धवाह ताल जुन करिब २ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा पानी चुहीने, नअडिने लगायतका समस्या थिए । त्यसमा सहमतिले केही पैसा लगानी गरेको छ । अहिले त्यो समस्या हल भएको छ । धवाहा तालले गर्दा यस वरपर बस्ने बासीन्दालाई पनि अहिले सिंचाइको समस्या छैन् । यस्तै अन्य सामुदायिक वनहरुका सिमसार क्षेत्रको संरक्षणमा लागेसँगै पानीको समस्या कम हुँदै गएको हाम्रो अनुभव छ ।
अहिले पानीको क्षेत्रमा कस्ता समस्या छन् ?
खानेपानीको अभाव उस्तै छ । खानेपानी मात्र नभई सिँचाईको अभाव पनि सिर्जना भएको छ । सबैले जमिन मुनीको पानी तानेर वितरण गर्नुभएको छ । तर रिचार्ज गर्नुभएको छैन् । यसले केही समयमा पानीको ठूलो समस्या हुने देखिएको छ । नारायणी नदीमा उत्तिकै प्रदुषण देखिन्छ । यसले मानव जीवनमा ठूलो असर पनि गरिरहेको छ ।
खानेपानी संस्थाले पानीको मुहान संरक्षणमा कती ध्यान दिएका छन् ?
गैँडाकोटमा २ वटा खानेपानी संस्थाले मुहानको पानी वितरण गरेका छन् । तर उनीहरु पनि त्यसमा मात्र आश्रीत छैनन् । अन्यले जमिन मुनीको पानी वितरण गरेका छन् । पानीको उपयोग गर्दैगर्दा यसको रिचार्जमा भने उनीहरुको ध्यान पुगेको छैन् ।
पानीको रिचार्ज कसरी गर्ने ?
हामीले व्यवस्थित रुपमा वातावरण सन्तुलीत गर्नुपर्छ । घरमा एउटा सोस टंकी बनाएर पनि पानीलाई रिचार्ज गर्न सकिन्छ । घरमा प्रयोग गरेको पानीलाई सिधै ढलमा लगेर नमिसाउने । सकेसम्म जमिनमै मिसाउने यसले रिचार्ज गर्न सघाउ पुग्छ । जसले रिजार्चको सोंच बनाएर घर बनाउन खोज्नुभएको छ । भवन बनाउँदै हुनुहुन्छ भने उहाँहरुलाई नगरपालीकाले पनि करमा छुट दिने गर्नुपर्छ । ठुलाठुला उद्योगहरु बनाउँदा उद्योगले प्रयोग गर्ने पानीलाई संकलन गरेर फेरी प्रयोग गर्न सक्ने वातावरण बनाउनु सकिन्छ । ठूलाठूला कम्पनीहरुको यो दायित्व पनि हो तर यस्तो गरेको पाइदैन । पानीको संरक्षणमा उहाँहरुले पनि ध्यान दिन जरुरी छ ।