नवलपुर ।
नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरुभएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यस अघि नारायणी नदि वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकिय गतिविधि संचालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारी सुरु भएसँगै उत्साही बनेका हुन् ।
जंलग सफारीमा आउनेहरुलाई नारायणीमा डुङुगा शयर सहित पारि निकुञ्ज क्षेत्रमा जिप सफारी गराउँदा थप पर्यटक बढ्नेहुँदा आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताउनुभयो । ‘पहिले यहि सामुदायिक वन घुमाउने भन्ने थियो, अब यहाँ आएपछि राष्ट्रिय निकुञ्ज समेत घुम्न पाइन्छ भन्नेभयो, यसले नवलपुर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने विश्वास छ’ पर्यटन व्यवसायी गुरौले भन्नुभयो ।
यस अघि नारायणी नदि वारीका मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा सफारी गराउँदै आइएकोमा अब भने नदि पारि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गल सफारी गर्न सकिने छ । नारायणीमा ढुङ्गा शयर गरि नदि पारि पुगेपछि जिप सफारी गराइने गुरौले बताउनुभयो ।
नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमका बीच शनिबार निकुञ्जमा सफारीको सुरुआत गरेको थियो । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गत वर्ष मध्यवर्ती सामुदायिक वनमा समेत जीप सफारी बन्द गर्ने अवस्थामा पुगेको र हाल निकुञ्जले नारायणी पारी पनि सफारी खुला गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकिय गतिबिधि बढ्ने बताउनुभयो । ‘हामी खुसी छौ, यहाँको पर्यटकिय गतिविधि चलायमान गराउन ,यो कदमले सहयोग पक्कै पुग्नेछ’ अध्यक्ष महतोले भन्नुभयो ।अब नारायणीमा ढुङ्गा शयेर गर्न र चितवन राष्ट्रिय निकुञ्ज सम्म पर्यटक लैजाने वातावरण मिलेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जले यही माघ ११ मा निर्णय गरेर सबै होटल र व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो । यस अघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र आफ्नोमा आएका पर्यटक लैजाने अनुमति पाएका थिए ।अब अमलटारीबाट गैंडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिनेछ । यस कार्यले नवलपुरका आर्थिक , पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साले बताउनुभयो । शनिबार प्रजिअ लम्सालले सफारीको उद्धघाटन समेत गर्नुभएको थियो । नवलपुरबाट निकुञ्ज भित्र जिप सफारी सुरु हुँदा यस क्षेत्रमा विदेशी पर्यटकको आगमन समेत हुने हुँदा यहाँको संस्कृतको प्रचार प्रसारमा समेत मदत पुग्ने प्रजिअ लम्सालले बताउनुभयो । नवलपुर क्षेत्रबाट प्रतिदिन ५ जिप निकुञ्ज प्रवेश गर्न पाउनेछन् । सबै होटल र पर्यटन व्यवसायीलाई फस्ट कम फस्ट सर्भिसका आधारमा अनुमति पाउनेछन् । एउटा जिपमा १० जना एकै पटक आउजाउ गर्न सक्छन् । हात्ती सफारी मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र प्रवेशको अनुमति छ । निकुञ्जमा जिप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ ।