पोखरा ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहाले पदभार ग्रहण गर्नुभएको छ । आज बिहान उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
नवलपुर प्रदेश सभा क्षेत्र नम्बर १ (ख)बाट दोस्रो पटक निर्वाचित उहाँ यस पटक आन्तरिक मामिला तथा कानून मन्त्री बन्नुभएको हो ।
२०२० सालमा पाल्पाको सलकोटमा जन्मिनुभएका गाहा अहिले नवलपरासी पूर्वको कावासोती नगरपालिका– २ भाट्टोलाका बासिन्दा हुन् ।
२०३५ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका गाहा २०३६ सालमा पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि भएको विद्रोहको क्रममा नेपालमा आन्दोलन गर्दा २५ दिन जेलसमेत पर्नुभएको थियो ।
२०४३ सालमा शिवमन्दिर गाउँ पञ्चायतको उपप्रधानपञ्च पदमा निर्वाचित हुनुभएका गाहा २०४९ सालमा तत्कालीन शिवमन्दिर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । २०६४ सालमा संविधान सभा सदस्यमा समानुपातिकबाट निर्वाचित उहाँ सार्वजनिक लेखा समिति सदस्य र राष्ट्रिय हित संरक्षण समिति सदस्य समेत बन्नुभएको थियो ।
जिल्लाको विभिन्न तहमा काम गर्दै आउनु भएका गाहा २०६९ मा नेकपा एमालेको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।