24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

जसले गरे एक सय पटक रक्तदान !

- Advertisement -Flowers in Chania

नवलपुर ।ज्ञानु पंगेनी

रक्तदान गर्ने भनेपछि जोकोही अग्रसर हुँदैनन् । रक्तदान गर्दा मानव शरीरलाई हानी हुँदैन फाइदा नै हुन्छ भन्ने जानकारी भएपनि कमजोर भइन्छ भन्ने धारणा छ । त्यसैले रक्तदान गर्न जोकोही अग्रसर भएको पाइदैन । विभिन्न अवसरमा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा रक्तदान गर्ने संख्या निकै कम देखिन्छ । सुगर प्रेसर जस्ता दीर्घरोग मानिसमा पछिल्लो समय बढ्दो रहेका कारण रक्तदान गर्न चाहनेले समेत गर्न पाइराखेका हुदैनन । तर, नवलपुरका एक जना व्यक्तिले एक सय पटक रक्तदान गरेर समाजमा एउटा उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ । कावासोती नगरपालिका १६ निवासी शिव गिरीले एक सय पटक रक्तदान गर्नुभएको हो । कावासोतीमा आफैँ अध्यक्ष समेत रहेको संस्था सहयोगी मन लगायतका संघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा उहाँले रक्तदान गर्नुभयो । शनिबार रक्तदान गरेसँगै उहाँले एक सय पटक रक्तदान गरेको रेकर्ड कायम भएको छ ।
उहाँले ३० वर्षअघि पहिलो पटक रक्तदान गर्नुभएको थियो । आफ्नै आमा बिरामी भएर अस्पतालमा उपचार गर्दा रगतको आवश्यकता परयो । आमाका लागि दुई पोइन्ट रगतको आवश्यकता थियो । रगतका लागि विभिन्न संस्था र व्यक्तिहरूसँग हारगुहार गर्दा पनि रगत नपाएपछि उहाँले आफैँ एक पोइन्ट रगत दिनुभयो । एक पोइन्ट रगत अर्कै व्यक्तिबाट व्यवस्था भयो । त्यस दिनदेखि उहाँले रगतको महत्व बुझेर रक्तदान गर्ने सोच बनाउनुभयो ।
त्यसदिन देख उहाँले नियमित रुपमा रक्तदान गर्दै आउनुभएको छ । जिल्लामा हुने आधिकांश रक्तदानका कार्यक्रम गिरीबाट नै सुरुआत हुन्छ । उहाँले धेरै पटक रक्तदान गरेका कारण सम्मान स्वरुप यहाँ हुने रक्तदानका कार्यक्रममा उहाँले नै रक्तदान गरेर कार्यक्रम उद्घाटन हुन्छन् । गिरी भन्नुहुन्छ – ‘समाजका लागि अरु केही गर्न नसकेपनि रक्तदान गरेर धेरैको जीवन दान गर्न पक्कै सफल भएको छु भन्ने मलाई लागेको छ । मलाई यसैमा गर्व र खुसी लाग्छ । ’
नवलपुर जिल्ला अत्याधिक दुर्घटना हुने जिल्ला , अर्कोतर्फ छिमेकी जिल्ला चितवन अस्पतालै अस्पतालको जिल्ला र क्यान्सर अस्पताल समेत भएको कारण रगतको धेरै आवश्यकता हुन्छ । छिमेकी र अस्पतालबाट नजिकको जिल्ला नवलपुर भएकोले त्यहाँ रगत अभाव हुँदा नवलपुरले रगत उपलब्ध गराउँदै आएको गिरी बताउनुहुन्छ । अस्पताल नजिक हुँदा जिल्लाकै धेरै मानिसलाई रगतको आवश्यकता पर्दा समेत सम्झने गरेको गिरीले बताउनुभयो । उहाँले धेरै सुत्केरी , बिरामीलाई अस्पतालमै गएर समेत रगत दिनुभएको छ । अहिले मध्यविन्दु जिल्ला अस्पतालमा समेत शल्यक्रिया हुन थालेपछि जिल्लाकै अस्पतालमा समेत रगतको आवश्यकता पर्न थालेको छ ।
‘रगत नत फ्याक्ट्रीमा बनाउन मिल्छ, नत कतैबाट आयात हुन्छ, नत पैसाले किन्न सकिन्छ , हामिले नै रगत दिनुपर्छ । त्यसैले पनि नियमित रुपमा रक्तदान गर्ने प्रचलन समुदामा बसाल्न आवश्यक छ । ’ गरीले भन्नुभयो – ‘हामिले सामाजिक काम गर्नकै लागि सहयोगी मन भन्ने संस्था दर्ता गरेर विपदमा परेकालाई सहयोग गर्ने , रक्तदान गर्ने कार्यक्रम गर्दै आएका छौँ । रक्तदानलाई प्रोत्साहन गर्न र अभियानकै रुपमा रक्तदानलाई अगाडी बढाउन यस संस्थाले काम गर्छ । ’
रक्तदान गर्नु भनेको रगत परिक्षण गर्ने अवसर समेत रहेको उहाँले बताउनुभयो । रगत दिइसकेपछि त्यो परिक्षण गरेर मात्रै प्रयोग हुने भएकाले रक्तदान गर्नु रगत परिक्षणको अवसर पनि रहेको गिरीले बताउनुभयो । प्रतेक तीन महिनामा रक्तदान गर्दा पुरानो रगत जाने र नयाँ रगत उत्पादन हुने हुँदा मानिसको स्वास्थ्यलाई पनि फाइदा पुग्ने उहाँ बताउनुहुन्छ । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने जनमानसमा धारणा रहेकोले त्यो गलत भएको उहाँ बताउनुहुन्छ । ‘रक्तदान गर्दा कमजोर हुने भएको भए म आज सयौँ पटक रक्तदान गर्न कसरी सक्थे ? यो त भ्रम हो । रक्तदान गर्दा कमजोर होइन स्वस्थ्य रहन मदत गर्छ । कुनै पनि स्वस्थ मानिस रक्तदान गर्नबाट डराउन हुन्न । ’ गिरीले भन्नुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्