24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

गैँडाकोटमा नारायणी नदी किनारमा सडक सहितको तटबन्धन

- Advertisement -Flowers in Chania

, गैँडाकोट ।पुस २०

गैँडाकोटमा नारायणी नदी किनारमा सडक सहितको तटबन्धन कार्य अघि बढेको छ । नदी व्यवस्थापनका लागि गैँडाकोटतर्फ ‘नारायणी नदी व्यवस्थापन एवं तटबन्धन (कुसुमघाट–थुम्सी) आयोजना अघि बढेको हो । 

नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, नारायणी नदी व्यवस्थापन आयोजना, भरतपुर, चितवन अन्तर्गत सञ्चालन हुने यस आयोजनाले गैँडाकोटका वडा नम्बर २, ६ र ९ लाई समेट्ने छ । निर्माण कार्यका लागि निर्माण व्यवसायी श्री रमण/त्रिवेणी जे.भि मुलपानी काठमाडौँसँग एक महिना अगावै सम्झौता भइसकेको छ । 

गत मंसिर १५ गते उक्त आयोजनाको सम्झौता भएको हो । उक्त आयोजना २०८२ साल जेठ १८ गते सम्पन्न गरी सक्नुपर्ने गरी सम्झौता भएको हो । गत भदौ २३ मा बोलपत्र आह्वान भएको थियो । यहि मंसिर २७ गतेदेखी आयोजनाले काम सुरु गरिसकेको छ । गैँडाकोट ६ मा क्रसर प्लान्ट स्थापना गरी वडा नम्बर ९ बाट जग खन्ने काम सुरु गरिसकेको छ । 

आयोजना अन्तर्गत गैँडाकोटतर्फ ४९ सय ४५ मिटर बाटो उकास सहित क्रंकिट ब्लकको तटबन्धन हुनेछ । गैँडाकोट ६ का वडा अध्यक्ष सुभाष चापागाईंका अनुसार वडा नम्बर २ मा ५०० मिटर, वडा नम्बर ६ मा ६३० मिटर, वडा नम्बर ९ मा ६६५ मिटर, विपि अन्तर्राष्ट्रिय खेलग्राममा ३१ सय ५० मिटर बाटो उकास सहित क्रंकिट ब्लकको तटबन्धन हुनेछ ।  

नदी किनारमा बन्न लागेको सडक र ड्याम बेसबाट जमिनमाथी ७.८ मिटर उचाई र १२ मिटर चौडाईको हुने जनाईएको छ । उक्त आयोजना संघीय सरकारको १ अर्ब ९७ करोड ६८ लाख ८१ हजार ९६ रुपैयाँ २५ पैसामा सम्झौता भएको हो ।

सो निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक पर्ने निर्माण सामग्री (गिट्टी तथा बालुवा) उत्पादन गर्नका लागि गैँडाकोट ६ अन्तर्गत निर्माण व्यवसायीको कार्य क्षेत्रमा क्रसर प्लान्ट राखिने भएको छ । आयोजनाको निर्माण कार्यका लागि मात्र प्रयोग हुने गरी नारायणी नदीबाट निकालिने (ढुङ्गा, गिट्टी तथा बालुवा) आयोजनाको आवश्यकता अनुसार उत्पादन गर्न सम्झौता अवधि सम्मका लागि अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सुवास तिमल्सिनाबाट निवेदन पेश भए अनुरुप ठेक्का सम्झौता बमोजिम अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न दिइएको गैँडाकोट नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख शंकर कंडेलका अनुसार जल, जमिन, ध्वनि तथा वायु प्रदुषण नियन्त्रण विधि तथा उपायहरु अवलम्वन गरी क्रसर प्लान्ट स्थापनाका लागि अनुमति प्रदान गरिएको छ । यहि पौष ८ गते बसेको गैँडाकोट नगरपालिका अन्तर्गतको नगर विपद व्यवस्थापन समितिले अनुमति दिने निर्णय गरेको हो ।  

क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्नका निम्ति करिब ४ विघा जग्गा भाडामा उपलब्ध गराईने उल्लेख गरिएको छ । नगरको भाडा निर्धारण समितिबाट यथोचित भाडा निर्धारण गरी कार्यालयले तोकेको स्थानमा क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्न सहमति प्रदान गरिएको विपद् व्यवस्थापन समितिका नगर संयोजक एवं गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले बताए । विपि अन्तर्राष्ट्रिय खेलग्राम निर्माण स्थल नजिक गैँडाकोट ६ नारायणी नदी किनारमा क्रसर प्लान्ट सहितको कार्यालय स्थापना गर्दैछ ।   

नगर विपद व्यवस्थापन समितिले आयोजनाले तटबन्ध निर्माण गर्ने स्थानको बगर क्षेत्र तटबन्ध निर्माण अगावै खाली नगर्दा बगर क्षेत्रमा थुप्रिएर रहेको नदीजन्य पदार्थ तटबन्ध निर्माण पश्चात उपयोगहिन भई आगामी बर्खाको समयमा खोलाले बगाई लैजाने तथा नगरपालिकाको राजस्व गुम्ने र नगर क्षेत्रमा हुने सार्वजनिक निर्माणको लागि आवश्यक निर्माण सामग्री आपूत्र्तिमा समेत असहज हुन सक्ने भएकोले उक्त नदीजन्य पदार्थ सो नदी किनार क्षेत्रबाट हटाई उपयुक्त स्थानमा नगरपालिकाको स्वामित्वमा रहने गरी संग्रह गर्ने निर्णय गरेको छ । 

साथै बैठकले गैँडाकोट नगरपालिका वडा नं. २ र ५ स्थित भृकुटी खानेपानी ट्याङ्की क्षेत्रमा तत्काल तटबन्धन नगर्दा स्थानीय समुदायमा नदीबाट जोखिम हुने देखिएकोले सो क्षेत्रमा तत्काल तटबन्धनको लागि नारायणी नदी व्यवस्थापन आयोजनामा सिफारीस गरी पठाउने निर्णय गरेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।  

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्