कावासोती पुस १९
नवलपुरमा सुन्तलाजात फलफूल बगैँचाको व्यवस्थापन गर्न सुरु गरिएको छ ।
उत्पादन दिन सुरु नगरेका सुन्तलाजात फलफूलका बगैँचा व्यवस्थापन गर्ने मुख्य समय यही भएकाले अभियानकै रुपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासी कार्यालयले गैंडाकोट १८ बाट बगैँचा व्यवस्थापन अभियान सुरु गरेको हो । युग बहादुर सारू मगरको बगैँचाबाट अभियान सुरुआत गरिएको हो । यहाँका ५१ घरधुरी किसान व्यवसायिक रुपमा सुन्तलाजात फलफूल खेतीमा संलग्न छन् ।
कार्यालयबाट गएको टोलीले बगैँचा व्यवस्थापन गर्ने तरिका किसानलाई जानकारी गराएको छ । कार्यालयको टोलीले माघको मध्यसम्म यो अभियान जारी राख्ने छ । गैंडाकोट पछि धौबादी , काफलडाँडा , छरछरे , रामकोट , देउराली , बबोक , राइकोटमा बगैँचा व्यवस्थापन कार्य गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईका प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यालयको टोलीले कुनै एक किसानको बगैँचामा सबै किसानलाई जम्मा गरेर बगैँचा व्यवस्थापन गर्ने तरिकाको बारेमा जानकारी गराउँछ । प्राप्त जानकारी अनुसार किसानले आ – आफ्नो बगैँचाको व्यवस्थापन गर्ने शर्माले बताउनुभयो । ‘बगैँचा व्यवस्थापनको मुख्य समय यही हो । नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामिले यो समयलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ । ’ शर्माले भन्नुभयो – ‘बगैँचा व्यवस्थापनको मुख्य काम भनेको चार काम हुन । पहिलो काम काँटछाँट गर्ने हुन्छ , जसमा चोर हाँगा , बाक्लो हाँगा , रोगी हाँगा र भित्रपट्टी फर्केको हाँगा हटाउने काम हुन्छ । त्यसपछि काटेको ठाउँमा विषादी लगाउनुपर्छ , त्यसमा हामिले बोडोपेस्ट लगाउँछौ , बोडोमिश्रण छर्छौँ । त्यसपछि तेश्रो काम भनेको मल राख्ने र चौथो काम भनेको सिँचाइ गर्ने काम हो । यी चार काम व्यवस्थापनको मुख्य काम हो । यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ । ’

फल दिइरहेको ठूला बोटहरू जसले फल दिइरहेका छन्, त्यस्ता बोटहरू फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने , ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने शर्माको भनाई छ ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको चार वर्ष पुगेको छ । परियोजना मार्फत बिस्तार भएका आधिकांश बगैँचा फल दिन सुरु गरेका छैनन् । अहिले जिल्लामा उत्पादन दिने सुन्तलाजात फलफूलका बगैँचा पुराना हुन् । परियोजना लागू भएपछि बगैँचाको व्यवस्थापन गर्ने बारेमा किसानलाई वर्षेनी जानकारी दिने , तालिमहरू दिने गर्दै आइएको छ । फल दिने बगैँचाको उचित व्यवस्थापन हुन थालेपछि उत्पादनमा समेत वृद्धि हुँदै आएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
जिल्लामा सुन्तलाजात फलफूल अन्तरगत सुन्तला ४३८ हेक्टर , जुनार ७ हेक्टर , कागती २६५ हेक्टर र निबुवा ४१ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।