24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

- Advertisement -Flowers in Chania

कावासाेती २०७९ पुस ७

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन्। हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ। यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ।

जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन्। अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु भएको छ।

नवलपुरमा तोरी ढिलो फुल्ने भएकाले पहिलो चरणमा चरनका लागि किसानले मौरी चरनका लागि अन्य जिल्लामा लैजाने गर्दछन्। पश्चिम नवलपरासीबाट दाङ, कपिलवस्तु, प्यूठानसम्म नवलपुरबाट मौरी चराउन लैजाने गरिएको छ।

अन्यत्र चरनका लागि लगिएका मौरी अहिले जिल्लामा नै चरनका लागि तोरी फुलेपछि ल्याइएको नेपाल मौरीपालक महास‌ंघ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताए।

थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि नवलपुरमा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। बर्सेनि यो व्यवसायमा लाग्ने किसानको संख्या क्रमशः बढ्दै गएको अध्यक्ष कँडेलले बताए। उनका अनुसार जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन्। व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको संख्यासमेत धेरै रहेको उनको भनाइ छ।

महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले यसको माग बढ्दै गएको छ। कोभिड–१९ महामारीपछि महको खपत झन् बढेको छ।

नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको संख्या धेरै छ। देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएको अध्यक्ष कँडेलले बताए।

कावासोतीका मौरीपालक किसान चण्डिका लामिछानेका अनुसार मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको भने समस्या हुने गरेको बताए।

स्थानीयरूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ। तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा भने चरनका लागि समस्या हुने गरेको उनले बताए।

फूल खेल्ने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको लामिछानेले बताए।

रुदिलो, फापर, फिलिंगे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरीजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठिक हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडिएको र किसानले खेती गर्नसमेत छाड्ने गरेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको लामिछानेले बताए।

नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष कँडेलका अनुसार यस वर्ष जिल्लामा करिब ३० मेट्रिकटन मह उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित मह स्थानीय बजारदेखि नजिकका सहरमा खपत हुने गरेको उनले बताए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्