कावासोती ।२०७९ मंसिर ३
भन्सार छलेर नेपाल भित्राइएका सामाग्री नियन्त्रणबाट तीन करोड बढि राजश्व संकलन भएको छ । नवलपरासी पूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामाग्री नियन्त्रण गरि त्यसबाट रु. ३ करोड २२ लाख ४८ हजार १०२ राजश्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामाग्री निन्त्रणबाट उक्त राजश्व संकलन भएको उहाँले बताउनुभयो । पाँच महिनाको अवधिमा २० पटक भन्सार छलेर ल्याइएका सामाग्री नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका सामाग्री भन्सार चलान गरि राजश्व असुल गरिएको हो । नवलपरासी सहित रुपन्देहीका विभिन्न सिमानाकाबाट भन्सार छलेर ल्याइएका सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो । कपडा, सवारी साधनका पाटपुर्जा, किरानाका सामान, युरिया, चिनी ,भाँडाकुडा लगायतका सामाग्री नियन्त्रणमा लिइएको थियो ।
यस अवधिमा प्रहरीले नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न ७९ वटा सवारी नियन्त्रणमा लिएको र कारवाहीबाट रु.१३ लाख ९ हजार राजश्व असुल गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार पाँच महिनाको अवधिमा जुवातासका ७ वटा मुद्धामा ४४ जनालाई कारवाही गरि रु. १ लाख ८७ हजार २४४ राजश्व संकलन गरिएको छ । यस्तै २७ जना फरार प्रतिवादि पक्राउ गरि ११ वर्ष ९ महिना तीन दिन कैद सजाय र रु. ६ लाख ९५ हजार ५७२ राजश्व असुल गरिएको उहाँले बताउनुभयो ।
प्रमुख तिवारीका अनुसार चालु आर्थिक वर्षको साउन देखि मंङ्सिर मसान्त सम्ममा लागुऔषधका ३२ मुद्धा दर्ता भएका छन् । भारतिय सिमाबाट लागुऔषध भित्राएर नवलपुरहुँदै देशका विभिन्न शहरहरुमा लैजाने गरेको पाइएकाले यसको नियन्त्रणका लागि आफुहरु चनाखो भएर लागेको उहाँले बताउनुभयो । ‘खासगरि लागु औषध ओसारपसरा यो बाटोबाट धेरै हुने गरेको घटनाक्रमले समेत देखाएको छ, हामी नियन्त्रणका लागि विषेश निगरानी गरेका छौं’ जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख तिवारीले भन्नुभयो ।
जिल्लामा पाँच महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ९६ वटा मुद्धा दर्ता भएको उहाँले बताउनुभयो । मुख्यतया लागुऔषध, सवारी दुर्घटना र आत्महत्याका घटना धेरै हुने गरेको तथ्याङले देखाएको छ । यसै अनुसार प्रहरीका गतिविधि अघि बढ्ने प्रमुख तिवारीले बताउनुभयो । आत्महत्या नियन्त्रणका लागि भने सबै सचेत भएर योजना बनाएर लाग्नुपर्ने उहाँले बताउनुभयोे । नवलपुरमा पाँच महिनाको अवधिमा ४७ जनाले आत्महत्या गरि ज्यान गुमाएकाछन् । यो तथ्याङ्क डरलाग्दो भएकाले सबै सरोकारवाला सचेत भएर यसको नियन्त्रणका कार्यक्रम गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले शनिवार चालु आर्थिक वर्षको पहिलो पाँच महिनाका घटना विवरण, प्रहरीले गरेका कामका विषयमा पत्रकार सम्मेलन गरि जानकारी प्रदान गर्नुभएको थियो । साथै गत आवको यसै अवधिको अवस्था र हालको विश्लेषण समेत प्रस्तुत गर्नुभएको थियो ।