प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए ।
त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए । यसको पेशी तोकिएको छ र केहीबेरमा सुनुवाइ सुरु हुने छ ।
महाअभियोग निलम्बन फुकुवाको पत्र पाएकै दिन जबरा सर्वोच्च अदालत गएर हाजिर हुने तयारीमा थिए । तर कानुन व्यवसायीहरुको विरोध र धर्नाका कारण सो दिन उनी सर्वोच्च जान सकेनन् ।२०७९ मंसिर २३