24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

नवलपुरबाट प्रदेशमा अधिकांश नयाँ अनुहार पुग्ने निश्चित, दाहोरिने दाउमा गाहा

- Advertisement -Flowers in Chania

खगेन्द्र पराजुली
नवलपुर, कार्तिक २९ । प्रत्यक्षतर्फ चार जना चुनिने गण्डकी प्रदेश सभातर्क नवलपुर जिल्लामा ४१ जना उम्मेद्वार छन् । क्षेत्र नं. १ को ‘क’ मा ९ जना, ‘ख’ मा ११ जना र क्षेत्र नं. २ को ‘क’ मा ११ जना, ‘ख’ मा १० जना उम्मेदवार प्रदेश सांसद बन्ने यात्रामा चुनावी प्रचार–प्रसारमा होमिएका छन् ।
यहाँ उम्मेदवार बनेका मध्ये नेकपा एमालेवाट अगिल्लो चुनावमा उम्मेदवार वनेर एक कार्यकाल प्रदेश सांसद वनिसकेका रोशन वहादुर गाहालाई फेरी पनि अगाडी सारिएको छ । अरु सबै नयाँ अनुहारका उम्मेदवार छन् । त्यसैले नवलपुरवाट प्रदेश संसदमा छिर्ने अधिकांश सांसद नयाँ हुने निश्चित छ ।
प्रदेशतर्फको मुख्य प्रतिस्पर्धा नेकपा एमाले र गठवन्धवीच हुने पुर्वानुमानलाई नकार्न सकिदैन । यहाँ गठवन्धनका तर्फवाट एक जना काँग्रेस, दुई जना माओवादी केन्द्र र १ जना एकिकृत समाजवादीका साझा उम्मेदवार छन् ।
यस अघि १ को ‘क’ बाट नेपाली कांग्रेसका तर्फवाट जित निकाल्दै प्रदेश छिरेर मुख्यमन्त्री समेत भएका कृष्णचन्द्र नेपाली पोखरेलको क्षेत्रमा काँग्रेसका महेन्द्रध्वज जिसी उम्मेदवार छन् । जिसी का प्रतिस्पर्धीका रूपमा एमालेको रविन्द्र अधिकारी छन् । यहाँ राप्रपाका सन्तोष थापा सहित ९ जना प्रतिस्पर्धामा छन् ।
जिसी २०५१ मा यही क्षेत्रबाट सांसद र पहिलो संविधान सभा निर्वाचनमा अर्को क्षेत्रबाट निर्वाचित भएका थिए । उनी अहिले पार्टी जिल्ला सभापति छन् । पार्टीका पुराना, स्थानीय नेताका रूपमा चिनिएका जिसी परिचित नाम, काँग्रेसको गढ़ मानिने गैंडाकोटको पुरै भूगोल, पहाडी क्षेत्रका जनतावीच पुरानै घुलमिलका कारण बुलिङटारका वडाबाट समेत राम्रो मत प्राप्त हुने विश्वास र देवचुली आफ्नै गृहपालिका भएकाले पनि चुनाव जित्नेमा विश्वस्त देखिन्छन् । यता एमालेका रविन्द्र अधिकारीलाइ भने संगठनकै बलमा र गठबन्धनसँग असन्तुष्टको मत चोरेरै जिताउने एमालेको रणनिति छ । एमाले केन्द्रीय सदस्य रहेका अधिकारीको मतदातासँग भन्दा पनि एमाले कार्यकर्ताबीचमै राम्रो चिनजान र परिचय छैन ।
विद्यार्थी राजनीति हुदै युवा संगठनका केन्द्रिय नेतृत्वबाट पार्टीको नेतृत्वमा पुगेका युवा उमेदवार अधिकारीले चुनाव जित्ने आधारका रूपमा बुलिङटारमा सुधारिएको संगठनको अवस्था गठवन्धनका असन्तुष्ट मत र गैंडाकोटका स्थानीय भएकाले पनि भूगोल प्रभावले एमालेको पक्षमा नतिजा निस्कन सहज हुने भनाई छ ।
स्मरणीय के छ भने २०७४ को निर्वाचनमा काँग्रेस एक्लै र एमाले–माकेका साझा उम्मेदवारलाई मुख्यमन्त्री नेपालीले हराएका थिए ।
एक कै ख मा निवर्तमान सांसद रोशन गाहा र माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलबीच टक्कर हुने अवस्था छ । त्यसो त यहाँ राप्रपाका रामनाथ उप्रेती सहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
एमालेका गाहा २०४३ सालमा उप–प्रधान, ०४९ र ५४ मा गाविस अध्यक्ष, एक कार्यकाल समानुपातिकतर्फबाट संविधान सभा सदस्य र प्रत्यक्षतर्फबाट प्रदेश सांसद बनेका छन् । पार्टीले अहिले पनि बलियो उम्मेदवारका रूपमा उनैलाई अघि सारेको हो । पार्टीको जिल्ला अध्यक्ष समेत भैसकेका गाहा हाल प्रदेश कमिटिमा छन्।
स्थानीय मतदाताबीच राम्रो परिचय स्थापित गरेका गाहाले जातिय मत प्रभाव पार्न सक्ने भएकाले जित निकाल्ने एमालेको दावी छ । नतिजालाई प्रभाव पार्न सक्ने मगर समुदायको मतलाई यस क्षेत्रको निर्णायक मतको रूपमा पनि हेर्ने गरिन्छ ।
यता माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रका उम्मेदवार लोकप्रसाद भुर्तेल सांगठनिक र वैचारिक व्यक्ति हुन् । द्वन्दकालमा कुनै पनि हिंसात्मक क्रियाकलापमा संलग्न नरहेका भुर्तेललाई स्थानीयले शिष्ट, अनुशासित, भद्र र सामाजिक कार्यकर्ताका रुपमा बुझेका छन् । विगतको राजनैतिक दुश्मनी विर्सेर गठबन्धनको मत साझा उम्मेदवारलाई पर्ने अवस्था रहे गाहालाई प्रदेशको दोस्रो यात्रामा रोकावट आउनसक्ने स्थिति पनि देखिएको छ ।
जातियताबाद मौलाउँदा यहाँ क्षेत्रीयताबादले नतिजामा प्रभाव पर्न सक्ने सम्भावना समेत देखिन्छ । धौलागिरीको पर्वतबाट नवलपुर आएका भुर्तेललाई यहाँ सांगठनिक रुपमा रहेको पर्वत–धौलागिरी समाजले सहानुभूति राख्ने सम्भावना देखिँदा नतिजा कसको पोल्टामा पुग्छ अनुमान लगाउन गाह्रो छ ।
यता क्षेत्र नं. २ को ‘क’ मा एमालेका पद्मा जिसी र माओवादी केन्द्रका सोम सिर्पालीबीच मुख्य प्रतिस्पर्धा छ । यो क्षेत्रमा राप्रपाका नूनबहादुर आले सहित ११ जना उम्मेदवार कायम छन् । यो क्षेत्रमा एमालेले सजिलै जित निकाल्न सक्ने अनुमान राजनैतिक बृत्तमा चलेको छ । गठबन्धनको टिकट वितरण प्रक्रियाको सुरुदेखि विवादित बनेका कारण यो क्षेत्रमा एमालेका उम्मेदवारलाई सजिलो भएको अड्कल गरिएको हो । यो क्षेत्र गत निर्वाचनमा काँग्रेसका बिष्णु प्रसाद लामिछानेले जितेको क्षेत्र पनि हो ।
गण्डकी प्रदेशका ११ जिल्लाका ३६ निर्वाचन क्षेत्रमध्ये एकिकृत समाजवादीको भागमा परेको एक मात्रै क्षेत्र नवलपुरको क्षेत्र नं. २ को ‘ख’ को चुनावी रस्साकस्सी पनि कम छैन ।
यहाँ पनि एमाले र एकिकृत समाजवादीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा एमालेका जनकलाल श्रेष्ठले जित निकालेको यो क्षेत्रमा एमालेका लक्ष्मण पाण्डे र एकिकृत समाजवादीका डा. गोपाल खनाल उम्मेदवार छन् । यहाँ राप्रपाका भोजबहादुर थापा सहित १० जना प्रतिस्पर्धामा छन् ।
एमालेका पाण्डे २०४९ र ०५४ मा तत्कालिन बेणीमणिपुर गाविसको अध्यक्ष भईसकेका हुन् । उनलाई सो क्षेत्रमा क्षमताबान् ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । साविक गाविसमा उनको लोकप्रियता भए पनि पाण्डेका प्रतिस्पर्धीका रुपमा रहेका डा. खनाल जिल्लामै परिचित नाम भएका कारण एमालेलाई गाह्रो हुने आकडा छ ।
डा. खनाल पार्टीको केन्द्रिय सदस्य एवं नवलपुर ईन्चार्ज हुन् । उनी सेवानिबृत्त स्वास्थ्यकर्मी हुन् । विभिन्न जिल्ला अस्पताल, बीर अस्पताल र सिटीईभिटीको प्रमुख समेत रहेका उनी प्रदेश सरकार बनेपछि नामाकरण भएको मध्यविन्दु जिल्ला अस्पताल, नवलपुरको संस्थापक अध्यक्ष हुन् ।
एमालेले यस क्षेत्रमा समाजबादीको जनाधार कम भएकाले पाण्डेलाई सहज हुने दावी गर्दछ तर डा. खनालको ब्यक्तिगत प्रभाव र गठबन्धनका मत यो क्षेत्रमा विभाजन नहुने भएकाले जित पक्षमा पर्ने गठबन्धन स्रोतको भनाई छ ।
गत निर्वाचनमा नवलपुरबाट गण्डकी प्रदेश सांसदमा नेपाली काँग्रेसबाट २ र एमालेबाट २ जनाले जितेका थिए । त्यतिबेला एमाले–माके गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका दुवै जनाले पराजित हुनुपरेको थियो । ०७९-०७-३०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्