हुलाकी संवाददाता
कावासोती


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद डा. शशांक कोईरालाले नारायणगढ बुटवल सडक निर्माणको ठेक्का लिएको चाईना स्टेट ईन्जिनियर कम्पनीका प्रतिनिधिलाई सडक निर्माणको काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन् ।
विहीबार साँझ ठेकेदार कम्पनीका प्रतिनिधि संग भएको भेटबार्तामा डा. कोइरालाले सडक निर्माणको काममा ढिलाई हुदा यात्रु र स्थानीयले सास्ती पाएको हुँदा तत्काल काम अगाडि बढाउन प्रतिनिधिहरुसंग आग्रह गरेका हुन्।
पूर्व पश्चिम राजमार्गको ठेक्का लिएर लामो समयसम्म काम नसकेको चाईना स्टेट कम्पनीका दक्षिण एसिया निर्देशक एवं नेपाल प्रमुख सुयान सहितको टोलीले डा. कोइरालासंग भेटेको हो ।
भेटमा कम्पनीका दक्षिण एसिया निर्देशक एवं नेपाल प्रमुख सुयानले चाईनाबाट आएका नयां बिभागीय टिमका साथ कम्पनी निर्माणमा जुटेको बताए ।
सुयांनले कम्पनि र सडक बिभाग बिच भएको सहमति अनुसार कामको प्रगति बढाउन दिएको समयमा केही काम भएको बताउदै पछिल्लो मनसुनि वर्षा र चाडबाडले बाधा सिर्जना भएको जिकीर गरेका थिए ।
आफुहरुले कम्पनीको आन्तरिक ब्यवस्थापनमा व्यापक सुधार गरि आबश्यक उपकरण र जनशक्ति थप गरेर कामका लागि अघि बढेका छौं सुयांनले बताए।
सुयांनका अनुसार आफुहरूले माग गरेको ७ सय ३० दिनको थप समय सिमा भित्र अन्तर्राष्ट्रिय स्तरको नमूना सडक निर्माण गर्न कम्पनी प्रतिबद्ध छ ।
यस अघिको कामको ढिलाईका सम्वन्धमा सुयांनले थप संख्याका रूख बिरुवा हटाउन, बिद्युत पोल सार्न देखिएको समस्या र कोभिड नै प्रमुख कारक रहेको बताएका थिए ।
सुयांनले सडक निर्माणको कामले २० प्रतिसत पार गरेको, अधिकांश साना कलभर्ट बनिसकेको, पूर्वको १० देखि १७ किमी सम्म माटो फिलिङ्ग र साईडको काम भएको दाबी गरेका थिए ।
उनले १७ किलो देखि पश्चिम दाउन्ने सम्म सडकमा फिलिङ्ग गर्न माटोको समस्या रहेकोले स्थानीय निकायहरूसंग माटो प्राप्तीका लागि पहल भईरहेकोले माटो पाएको ठाउमा काम छिटो अघि बढ्ने बताए ।
उनीहरुले नारायणगढ देखि झराहीखोला सम्म र प्रगतिनगर देखि कावासोती सम्मको वाटो काम तिहार लगत्तै निर्माण हुने आश्वासन दिएका थिए ।
भेटमा डा. कोईरालाका साथ प्रदेश सांसद ओमकला गौतम, नेपाली कांग्रेस नवलपुर सभापति महेन्द्रध्वज जिसी, उपसभापति बालकृष्ण घिमिरे, माओबादी केन्द्रका लोक प्रसाद भूर्तेल तथा नेका जिल्ला नेताहरूको सहभागिता रहेको थियो ।
काँग्रेस नेता डा. कोईरालाले कम्पनिलाई काममा ढिलाई नगर्न र बाटोलाई धुलो रहित बनाई आवागमन सहज पार्न र यात्रुहरुलाई परिवर्तनको अनुभूति गर्नसक्ने बनाउन चाईनिज ठेकेदारहरुलाई आग्रह गरेका थिए ।
ठेकेदार कम्पनीले भने सथानीय तहहरु संग समन्वय भइरहेको र साइडमा माटो पुर्नका लागि माटो प्राप्तीको लागि पहल भएकोले तिहार लगत्तै काममा प्रगति हुने जनाए ।