
हुलाकी सम्बाददाता
कावासोती, २९ असोज
शनिवार विहान महेन्द्र राजमार्गको ४० किलो जंगलमा तीनवटा सवारी एकआपसमा ठोक्किए । पश्चिमबाट कावासोती तर्फ आउदै गरेको लु ५३ प १६२५ नम्बरको मोटरसाईकल र सोही दिशावाट आउदै गरेको लु २ ख३६६९ नम्बरको टिप्पर संग कावासोतीबाट पश्चिमतर्फ जादै गरेको लु १ ख ७५५२ नम्बरको वस ठक्करखादा दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक युवकको घटनास्थलमानै मृत्यू र मोटरसाईकल मै सवार युवती सख्त घाइते भए ।
दुर्घटना पश्चात बसमा सवार यात्रुहरु हस्याङ्ग फस्याङ्ग गर्दै आत्तिदै वसवाट ओर्लन थाले र चिच्याउदै प्रहरीलाई फोन गर्न थाले । कोही यात्रु टिप्पर चालकलाई टिप्परबाट झारेर पिट्न थाले । प्रहरी घटनास्थलमा आउन ढिला गरेको भन्दै यात्रु चर्किदै प्रहरीलाई फोन गरिरहे । घटनास्थलमा शसस्त्र, जनपथ र ट्राफिक प्रहरी एकसाथ पुगे । प्रहरी आएर घटनास्थललाई घेरा हालेर घाईतेको उद्धार गर्न मात्र के थालेको थियो आक्रोशित भएको यात्रुहरुको समूहले प्रहरीमाथी ढुंङ्गा हान्न थाले । रेडक्रसको टोलीले घाईतेको प्राथमिक उपचार गरेर मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि पठायो भने प्रहरीले मृतकको शव व्यवस्थापन गर्न थाल्यो । ब्यस्त राजमार्गको पूर्व र पश्चिमतर्फ सवारी साधनहरु रोकिए । शसस्त्र प्रहरी भीड नियन्त्रण गर्न लाग्यो । आक्रोशित यात्रुहरुको ढुङ्गा खाएको शसत्र प्रहरी भने संयमित हुदै भीडलाई नियन्त्रणमा लिएर परिस्थितिलाई साम्य वनाउन लाग्यो । घटनास्थलमा पुगेका ट्राफिक प्रहरीलाई राजमार्गमा भएको सवारी जामलाई खुला गराउन र सवारी सुचारु गराउन समय भने लाग्यो ।
कल्पना गरेर बनाइएको यी सवै घटनाको साक्षीका रुपमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी सुमनराज घिमिरे , जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी, श्री २ नं. वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी दीपेन्द्र बोगटी, सशस्त्र प्रहरी बल भेडावारीका प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, जिल्ला ट्राफिक प्रमुख प्रदीप थापा, रेडक्रस कावासोतीका उद्धारकर्ता, सञ्चारकर्मीहरु रहेका थिए ।
राजमार्गमा यात्रारत यात्रुहरु सवैले साच्चिकै दुर्घटना भएको ठानेको यो परिदृश्य भने जिल्लाको सुरक्षा निकायले सञ्चालन गरेको “सडक दुर्घटना संयुक्त उद्धार नमूना अभ्यास” थियो । दुर्घटनामा परेर भएका घाइते, मृतक, प्रयोग भएका बस र टिप्पर सवै पूर्व निर्धारित पात्रहरु हुन् ।
अत्याधिक दुर्घटना हुने महेन्द्र राजमार्गमा दुर्घटना पश्चात उद्धार कार्य कसरी गर्ने र दुर्घटनावाट उत्पन्न परिस्थितिलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
महेन्द्र राजमार्गको नवलपुर खण्डमा गत आर्थिक वर्ष ०७८÷०७९ मा ९५ वटा सवारी दुर्घटना भएका थिए । सो दुर्घटनामा परि ४० जनाको ज्यान गएको थियो, १०२ जना गम्भीर घाईते र १४६ जना सामान्य घाईते भएका थिए । त्यसै गरि यस आ.व.को तीन महिनामा ७४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ५ जनाको ज्यान गएको , २८ जना गम्भीर घाईते र ३७ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
