खगराज सापकोटा, कावासोती l भोली (सनिवार)वाट सुरु हुने भनिएको नेपाली काँग्रेस नवलपुरका पालिका अधिबेशन अन्तिम समयमा आएर दुई दिन पछाडि सारिएको छ ।
जिल्ला निर्वाचन समितिले शुक्रवार साँझ ९ गतेको लागि तय भएको अधिबेशन ११ गते हुनेगरी निर्णय गरेको छ । निर्वाचन सार्ने निर्णय संगै असन्तुष्ट पक्षले आक्रोश व्यक्त गरेका छन्। नेपाली काँग्रेस जिल्ला समितिले आफुखुशी निर्वाचन सारेको भन्दै असन्तुष्ट बनेका कार्यकर्ताहरुले पार्टी सभापति विष्णु प्रसाद लामिछानेको विरोध गरेका थिए ।
नवलपुरको सवै पालिकामा काँग्रेस दुई खेमामा विभाजन भएको छ । जिल्लामा महामन्त्री डा. शशांक कोइराला र काँग्रेस नेता महेन्द्रध्वज जि. सी. को छुट्टाछुट्टै प्यानल बनेको छ । जि. सी. समूहले सवै पालिकामा उमेद्वारको टुङ्गो लगाएको भएपनि महामन्त्री कोइरालाको समूहले पालिकामाहरुमा उम्मेदवार टुङ्गो लगाउन नसक्दा जिल्लाको निर्वाचन सारिएको जि. सी. समूहका नेता एवम् तरुण दलका जिल्ला सभापति सूर्यबहादुर गुरुङ्गले बताउनुभयो ।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले केही पालिकाहरुमा आफुहरुको तयारी नपुगेको भन्दै पार्टी कार्यालय वी. पि. भवनमा आएर जिल्ला सभापति सहितका नेताहरुलाई निर्वाचन तालिका सार्न लगाएको गुरुङ्गले बताउनुभयो । तिवारीको निर्देशनमा जिल्लाको निर्वाचन तालिका सारिनुले कार्यकर्ताहरुको मनोभावनामा ठेस पुगेको तरुण दल नवलपुरका सभापति गुरुङ्गले बताउनुभयो । केन्द्रले तोकेको निर्वाचन तालिकामा निर्वाचन गराउनु पर्नेमा कुनै गुटको स्वार्थको आधारमा एकाएक निर्वाचन तालिका सारिनु दुखद् घटना भएको कावासोती नगरपालिका सभापति मुकुन्द भट्टराईले बताउनुभयो ।
पार्टी कार्यालयमा निर्वाचन तालिका सार्नु हुदैन, तोकिएकै समयमा निर्वाचन गराउनु पर्छ भन्दै तरुणदल सम्बद्ध युवाहरुले पार्टीका जिल्ला सभापति लामिछानेसंग आक्रोश पोखेका थिए । उनीहरुले पार्टी सभापति आफ्नो गुटको उम्मेदवार टुङ्गो लगाउन नसकेर जिल्लाका कार्यकर्ताहरुको मनोभावनामा बलात्कार गरेको भन्दै सभापति विरुद्ध उत्रिएका थिए ।
निर्वाचन सर्ने हल्ला चलेर आज (शुक्रवार) अपरान्ह पार्टी कार्यालयमा जम्मा भएका युवाहरुले पार्टीलाई स्वच्छ ढंगले निर्वाचनमा लैजानुको सट्टा सभापतिले महामन्त्रीको स्वकीय सचिव तिवारीको निर्देशनमा जिल्लाको निर्वाचन सारेको आरोप लगाएका थिए । वडा निर्वाचनबाट आएका क्षेत्रीय प्रतिनिधिहरुको नामावलीमा त्रुटी पाइएकाले निर्वाचन सारिएको जिल्ला मतदान अधिकृत गोविन्द सिग्देलले वताउनुभयो ।२०७८ असोज ८
- Advertisement -

- Advertisement -

- Advertisement -
