18.1 C
Kathmandu
Flowers in Chania

संबिधान दिवशमा नेपाललाई २३ राष्ट्रका राष्ट्रप्रमुखको शुभकामना सन्देश

- Advertisement -Flowers in Chania

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् ।
राष्ट्रपति भण्डारीलाई भारत, बंगलादेश, श्रीलंका, संयुक्त राज्य अमेरिका, रुसी महासंघ, संघीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र ती प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसै अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उहाँले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताउनुभयो । सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा उहाँले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गर्नुभएको छ । भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गर्नुभएको हो । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उहाँले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गर्नुभएको छ । अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहो¥याउनुभएको छ । ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ । प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना पनि प्रधानमन्त्री मोदीले सन्देशमा गर्नुभएको छ ।
संविधान दिवसको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनले राष्ट्रपति नेपाली जनता र राष्ट्रपति भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा उहाँले बितेको वर्ष कोभिड–१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका संकटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेको बताउनुभएको छ । कूटनीतिक सम्बधमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका–नेपाल मैत्रीको उहाँले सराहना गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले पारस्परिक मैत्रीलाई अझ निकट ल्याएको तथा शैक्षिक, व्यापारिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध निरन्तर विकसित भइरहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपतिले सन्देशमा नेपालको लोकतन्त्र र सार्वभौमसत्ताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ । रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्