मैदानमा उनी रिसाएको सायदै कसैले देखे। सधैं हाँसिरहने। त्यसैले फुटबल मैदानमा उनको अर्कै परिचय बनेको थियो, हँसमुख खेलाडीको। मैदानमा उनलाई देखेर विपक्षी दर्शकहरू पनि आनन्दित हुन्थे। लाग्थ्यो, ९० मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको फुटबल मैदान उनका लागि संसार हो। खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत थियो। ब्राजिलका उनै अदभूत प्रतिभाका धनी रोनाल्डिन्होको खेल करिअरको अन्त्य भने दु:खद रह्यो। सन् २००५ का फिफा वर्ष खेलाडी रोनाल्डिन्होले २०१८ जनावरीमा बुट थन्काउने निर्णय गरेका थिए। फुटबलबाट बिदा भएको दुई वर्षपछि रोनाल्डिन्होले जीवनकै कठिन समयको सामना गर्नु पर्यो।
रोनाल्डिन्हो र उनका भाइ रोबर्टो नक्कली पासपोर्ट पेश गरेको आरोपमा पाराग्वेमा गत मार्च ६ मा पक्राउ परे। अहिले उनीहरू एउटा होटलमा नजरबन्दमा छन्। ८ लाख डलर जमानतमा जेलबाट छुटेर नजरबन्दमा राखिएका ४० वर्षीय रोनाल्डिन्हो अब मुद्दा चलुन्जेल त्यहाँ बस्नु पर्नेछ। कुनै समय विश्वकै उत्कृष्ट खेलाडी रोनाल्हिन्डो पक्राउ परेपछि लाखौं फुटबलप्रेमी स्तब्ध भए। जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा सन् २००२ मा भएको विश्वकप फुटबलबाट उनी रातारात चम्किएका खेलाडी हुन्।
सन् २००२ को विश्व कपमा ब्राजिली टोलीमा ‘एक से एक’ प्रतिभाशाली खेलाडी उपस्थित थिए। टोलीमा रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस जस्ता दिग्गज खेलाडीको उपस्थिती थियो। यसै टोलीमा रोनाल्डिन्हो नामको अर्को प्रतिभा पनि समावेश थियो। उनकै अद्भूत खेलका कारण ब्राजिलले त्यपालिको विश्वकप उपाधि उचालेको थियो। त्यो विश्व कपमा इंग्ल्यान्ड विरुद्ध क्वार्टरफाइनलमा उनले गरेको गोल अहिले पनि धेरै फुटबल खेलाडीको मानसपटलमा ताजै छ। ‘सेन्टर हाफ’ नजिकैबाट उनले हानेको फ्रिकिक इंग्ल्यान्डका धुरन्धर गोलकिपर डेभिड सिमनले भेउ पनि पाउन सकेनन्। अन्तत: बलले जाली चुम्यो। सिमनका लागि अहिले पनि त्यो गोल एउटा नमीठो सपना जस्तै लाग्ने गरेको छ। उनी बेला–बेलामा रोनाल्डिन्होको त्यो गोलको चर्चा पनि गर्छन्।
उनको सशक्त खेलका कारण ब्राजिलले त्यो विश्व कप जितेपछि २२ वर्षीय रोनाल्डिन्होलाई विश्वका महँगा क्लबले आँखा लगाए। विश्व कपअघि उनी हाल नेइमार अनुबन्धित रहेको फ्रेञ्च क्लब पिएसजीमा आबद्ध थिए। तर, उनलाई विश्व कपपछि स्पेनिस माहरथी बार्सिलोनाले ३ करोड युरो खर्चेर क्याम्प नेउ भित्र्याएको थियो। त्यतिबेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डिन्होलाई लन्डनमा स्वागत गर्न चाहन्थ्यो। तर, उसको त्यो इच्छा कहिले पूरा भएन। बार्सिलोनाबाट ‘डेब्यू’ गर्ने क्रममा पनि उनले मध्य भागबाट बल ‘ड्रिबल’ गर्दै आफ्नो एकल प्रयासमा असम्भव झैं लाग्ने गोल गरे। सेभिया विरूद्ध यो सान्दार गोलसँगै स्पेनमा उनको लोकप्रियता चुलीमा पुगेको थियो।
सन् २००५ को च्याम्पियन्स लिगमा उनले इंग्लिस क्लब चेल्सी विरूद्ध गरेको गोलको अहिले पनि चर्चा हुन्छ। लन्डनमा भएको खेलमा रोनाल्डिन्होले ३८ मिनेटमा एकल प्रयासद्वारा अर्को आकर्षक गोल गरेका थिए। रोनाल्डिन्हो हरेक खेलमा फरक–फरक शैलीमा प्रस्तुत हुन्थे। उनको गोलको उत्सव मनाउने कला पनि अविष्मरणीय थियो। उनी जसरी दर्शनीय गोल गर्थे, त्यसरी नै खुसी मनाएर सबै दर्शकलाई असीमित आनन्द दिन्थे।
चेल्सी विरूद्ध गरेको गोललाई उनी जीवनकै अविस्मरणीय मान्छन्। उनले त्यो गोलबारे भनेका पनि छन्, ‘सबै गोल कला भएर मात्र गरिँदैन। कुनै गोल यस्तो पनि हुन्छ, जुन अपत्यारिलो लाग्छ।’ विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिड परस्पर विरोधी क्लब मानिन्छन्। दुबै क्लब एकआपसमा भिड्दा समर्थकहरू मैदानभित्र मात्र होइन, बाहिर पनि उत्तिकै हिंस्रक बन्ने गर्छन्। उनीहरू एकअर्काको विरोध गरेर कहिल्यै थाक्दैनन्।
तीन सिजनअघि रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जित्दा बार्सिलोनाका खेलाडीले मैदानमा विपक्षी खेलाडीलाई सम्मान दिन अस्वीकार गरेका थिए। यसअघि रियल म्याड्रिडका समर्थक बार्सिलोनाका डिफेन्डर गेरार्ड पिकेमाथि गालीगलौजमा उत्रिएका थिए। तर, यी दुबै क्लब एकआपसमा भिड्दा रोनाल्डिन्होको हकमा भने यस्तो अप्रिय घटना कहिल्यै भएन्। रियलका समर्थक एक पल्ट घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रोनाल्डिन्होको सम्मानमा उठेका थिए। जुन खेलमा बार्सिलोनाले रियललाई हराएको थियो। यसअघि यस्तो सम्मान रियलका समर्थकले बार्सिलोनाबाट खेलेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई मात्र दिएका थिए।
सन् २००३ देखि २००८ सम्म डच मिडफिल्डर फ्रान्क रिजकार्ड बार्सिलोनाको प्रशिक्षक थिए। त्यतिबेला रोनाल्डिन्होलाई उनले खुब प्रयोग गरे। उनले पद छोडेपछि युवा प्रशिक्षक पेप ग्वार्डिओला बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त भए। यसपछि रोनाल्डिन्होको करिअर संकटमा पर्न थालेको फुटबल विश्लेषकहरूको विश्लेषण छ।
लगत्तै रोनाल्डिन्हो स्पेनिस क्लब छोडेर इटालीको एसी मिलानमा आबद्ध भए। जति समय उनी बार्सिलोनामा रहे, उनले आफ्नो प्रभाव छोडे। अहिलेका स्टार खेलाडी लिओनल मेसीलाई उत्कृष्ट खेल्न प्रेरणा दिने गर्थे। उनले पहिलो अभ्यास सत्रमै मेसीको विषयमा भविष्यवाणी गरेका थिए। उनी भन्थे–‘बार्सिलोनामा मेसीले मेरो स्थान लिन्छन्।’ अझ उनी मेसी आफूभन्दा राम्रो खेलाडी बन्नेमा ढुक्क रहेको बताउँथे। मेसीले बार्सिलोनाका लागि ‘डेब्यू’ गोल गर्दा पास मिलाइदिने खेलाडी नै रोनाल्डिन्हो थिए।
इटालीमा रोनाल्डिन्होको करिअरले उति गति लिन सकेन। फुटबल पण्डितहरू प्रचुर प्रतिभा भए पनि रोनाल्डिन्होले आफूलाई सोही अनुरुप ढाल्न नसकेको आरोप लगाउँछन्। उनीहरूको विश्लेषण छ, उनले खेलभन्दा रमाइलोमा बढी समय खर्चे। पिएसजीका तत्कालीन प्रशिक्षकले एकपल्ट उनीमाथि गम्भीर आरोप लगाएका थिए। प्रशिक्षणमा ध्यान नदिने, बढी बिदा माग्ने आरोप पनि उनीमाथि लाग्ने गरेको थियो। बार्सिलोनामा आबद्ध रहँदा उनी अभ्यास मैदानमा धेरै पल्ट नाइट क्लबकै पहिरन लगाएर पुगेको समाचार पनि प्रकाशन भएको थियो।
खेल खस्किएपछि रोनाल्डिन्हो ब्राजिलको सन् २०१० विश्व कप टोलीमा अटाउन असफल रहे। अर्को वर्ष उनले इटाली छोडे। विस्तारै उनी विश्व फुटबलबाट ओझल हुँदैगए। उनले सन् २०१५ सम्म घरेलु फुटबल खेले। त्यसपछि दुई वर्षसम्म उनी फुटबल मैदानबाट पनि बाहिर रहे। उनी पाँच वर्षअघि भारतमा फाइभ ए साइड फुटबल खेल्न पनि आएका थिए। १९ वर्षको चहकिलो फुटबलर करिअरको बिदाइ उनले सुखद ढंगले गर्न पाएनन्। फुटबल खेलेर उनले कति कमाए र कति गुमाए यो विश्लेषणको विषय होला। तर, उनी एक्काइसौं सताब्दीको उत्कृष्ट फुटबल खेलाडीको सूचीभित्र अटाउने कुरामा सायदै कसैको दुईमत होला। आफ्नो जादुगरी ‘फुटवर्क’ मार्फत विपक्षीलाई फनफनी नचाउने उनको अद्भूत कला सबैले ‘मिस’ गर्नेछन्।साभारः सेताेपाटी, २०७७, बैशाख १५