धनुषा, अवैध गिट्टी-बालुवा उत्खनन्को विरोध गर्ने क्रममा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिकामा आज बिहान २४ वर्षीय दिलीपकुमार महतोको घटनास्थलमै मृत्यु भएको हो।
मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको औरही खोलाको बगरमा भइरहेको अवैध उत्खनन्को विरोध गर्दा महतोलाई टिपरले किचाएर हत्या गरेको स्थानीयले बताएका छन्।
स्थानीयबासीका अनुसार बिहान ४ बजे नदीजन्य पदार्थ लिन गएको ना ७ ख ६४१३ नम्बरको टिपरलाई उनले बाटोमै रोकेका थिए। चालकसँग भनाभन भएपछि टिपरले किचेरै उनको हत्या गरिएको हो।
टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। महतोको शव पोस्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
युवको हत्या विरोधमा स्थानीय आन्दाेलित भएका छन्। उनीहरूले टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। दाेषीलाइ कारबाहीकाे माग गर्दै स्थानीयले चर्काे प्रदर्शन गरिरहेका छन्। पुस-२५, २०७६