प्रदेश ३ को नाम ‘बागमती प्रदेश’ र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको बैठकले निर्णय गरेकाे छ। हेटौंडामा मुख्यमन्त्री डाेरमणी पाैडेलकाे निवासमा आज बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले प्रदेश सभामा प्रदेश नामांकन र राजधानीबारे साेही प्रस्ताव मात्र लैजाने निर्णय गरेकाे हाे। बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप नै जारी गरेको छ।
राजधानी हेटौँडा राख्नुपर्ने पक्षमा भन्दा विपक्षमा नेकपाकै धेरै सांसदहरु उभिएपछि संसदीय दलकाे बैठकले संसदमा साे प्रस्ताव लैजाने र मतदानका क्रममा अनिवार्य रूपमा प्रस्तावकाे पक्षमा उभिन निर्देशन दिएको हाे। काठमाडाैंमा बसेकाे नेकपाकाे सचिवालय बैठकले नै राजधानीकाे नाम बागमती र राजधानीकाे स्थल हेटाैंडा ताेक्ने निर्णय गरेकाे थियाे। त्यसपछि नेकपाका नेताहरुले सचिवालयले संसदकाे क्षेत्राधिकार मिचेकाे भन्दै विराेध जनाएका थिए। पुस-२५, २०७६