कावासोती । आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा ६/७ बर्षको भाले गैडा मृत अवस्थामा फेला परेको थियो ।
निकुञ्जका मुख्य वार्डेन रुपाखेतीले गैडा मर्नुको कारण यकिन भई नसकेपनि गतिविधि शंकास्पद भएको पाइएको बताए । आइतबार निकुञ्जबाट आएको विज्ञहरु सहितको टोलीले घटनाको अनुसन्धान गरेका थिए ।
अन्दाजी ६-७ वर्षको गैंडा कावासोती १० रतौलको मोहनीलाल पंथीको तोरी बारीमा आइतबार विहान मृत अवस्थामा भेटिएको थियो ।
स्थानीयले बिहान गैंडा देखेर हल्लाखल्ला गर्दा समेत गैंडा नचलेपछि गैंडा मरेको पत्ता लागेको हो ।
गैडा मर्नुको कारण आधिकारी रुपमा थाहा नभए पनि करेन्ट लागेर मरेको हुन सक्ने लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए । पुस २०, २०७६